अन्तर्राष्ट्रिय सेफ घनश्याम कँडेल र दुर्गा खड्काको पाक-कलामा आधारित भोजनलिपि स्वादको चौंथो संस्करण सम्पन्न
News Desk
Jun-30 तारिख 11:04 बिहान

अन्तर्राष्ट्रिय सेफ घनश्याम कँडेल र दुर्गा खड्काको पाक-कलामा आधारित भोजनलिपि स्वादको चौंथो संस्करण सम्पन्न भएको छ । राष्ट्रिय धान दिवसको समेत अवसर पारेर कार्यक्रमको आयोजना गरिएको हो । नेपाली खाना प्रवर्धन अभियान र सिलौटो कटेजले आयोजना गरेको कार्यक्रममा विभिन्न जिल्लामा उत्पादित कृषि उपजबाट बनेका परिकार प्रस्तुत गरिएको थियो । नेपाली सांगीतिक धुनसहित प्रस्तुत संस्करणमा खानाका विभिन्न १३ परिकार राखिएको थियो ।

कार्यक्रममा कृषि, पर्यटन सञ्चारलगायत विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागिता रहेको थियो । नेपाली खाना प्रवर्धन अभियानको संयोजनमा हुँदै आएको भोजनलिपि स्वाद स्वदेश तथा विदेशमा सञ्चालन गर्ने तयारी रहेको अभियानका संयोजक देवीप्रसाद सापकोटाले जानकारी दिनुभयो । नेपाली खाना र स्वादलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पुर्‍याउन यो अभियान थालिएको हो । अभियानको संयोजनमा यसअघि तीनवटा भोजनलिपि स्वाद संस्करण आयोजना गरिसकिएको छ ।

हालसम्म करिव ४० जिल्लाका कृषि उपजका परिकार प्रस्तुत गरिसकिएको छ । अभियानले बिस्तारै देशका सतहत्तरै जिल्लाका कृषि उपजलाई समावेश गर्ने लक्ष्य लिएको छ । भोजनलिपि स्वादका संस्थापक एवं नेपाली तथा अन्तर्राष्ट्रिय स्वादका अध्येता सेफ घनश्याम कँडेलले पाककला सम्बन्धि विश्वस्तरीय पुस्तक टिमुर प्रकाशन गरिसक्नु भएको छ । यस्तै अर्का सेफ दुर्गा खड्कासँगको सहलेखनमा भोजनलिपि कुकबुक प्रकाशोन्मुख रहेको छ ।

नेपाली पाक-कला क्षेत्रका ख्याती प्राप्त सेफहरु गोविन्द नरसिंह केसी, गणेश ढकाल, लक्ष्मण भण्डारी, शिवहरि घिमिरे र नयाँ पुस्ताका पूर्ण श्रेष्ठ, इङ्वा सुब्बा लगायत विभिन्न सेफहरुसँगको अनुभव आदानप्रदानले पनि भोजनलिपि स्वाद कार्यक्रमलाई थप प्रभावकारी बनाएको अभियन्ताहरुले बताएका छन् । उनीहरुसँगको सहकार्यले नेपाली खाना प्रवर्धन अभियानले छोटो समयमै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा ख्याती पाउन थालेको अभियानमा लागेकाहरुको भनाइ छ ।