News Desk
काठमाडौं, साउन ३ | गायिका एलिना चौहानले विगतको वैवाहिक सम्बन्धसँग जोडिएको विवाद पुनः उठान भएकोप्रति आक्रोश व्यक्त गर्दै सार्वजनिक प्रतिक्रिया दिएकी छन्। पूर्वश्रीमान विष्णु सापकोटाले सामाजिक सञ्जालमार्फत विभिन्न आरोप लगाउँदै आएका बेला एलिनाले अस्ट्रेलियामै कानुनी प्रक्रिया अघि बढाएको जानकारी दिएकी छन्।
उनका अनुसार, सम्बन्ध विच्छेद आपसी समझदारीमा भएको थियो र त्यसै दिनबाट सबै कुरा समाप्त भएको मानिएको थियो। तर, समाजको पुरातन सोच, सामाजिक सञ्जालको दुरुपयोग र व्यक्तिगत जीवनप्रति सतही धारणाले विगतको कुरा पुनः सतहमा ल्याइएको छ। “समाप्त भइसकेको विषयलाई दोहोर्याएर मेरो व्यक्तिगत अस्तित्वमाथि गम्भीर हमला गरियो,” उनले भनिन्, “अब म चुप लाग्दिनँ। मेरो चरित्रको रक्षाका लागि म कानुनी बाटोमा अघि बढ्दै छु।”
एलिनाले आफ्नो विगतबारे सार्वजनिक रूपमा बोल्नुपरेको अवस्थामा पुगेको भन्दै दुख व्यक्त गरिन्। “यो त्यो विगत हो, जुन अहिले मेरो जीवनसँग सम्बन्धित छैन। त्यो सम्बन्धसँग न कुनै दुस्मनी थियो, न बदला लिने मनसाय,” उनले स्पष्ट पारिन्।
उनले उठाएको प्रश्न गहिरो छ — “जब मैले आफ्नो भोगाइ सुनाएँ, प्रश्न उठाइन्छ – किन अहिले? किन फेरि? तर प्रश्न उठ्नुपर्ने त त्यो अन्यायको स्रोततर्फ हो, मेरो आवाजतर्फ होइन।”
सामाजिक सञ्जालमा लगातार आक्रमण खेपिरहेकी एलिनाले यो लडाइँ कुनै व्यक्तिगत व्यक्ति विरुद्ध नभएर पुरुषप्रधान सोच विरुद्ध भएको बताइन्। “सत्य बोल्ने नारीलाई दोषी बनाउने मानसिकता विरुद्ध म लड्दैछु। पीडितलाई कठघरामा उभ्याउने समाजको सोच परिवर्तन हुनु आवश्यक छ,” उनको भनाइ छ।
एलिनाले उल्लेख गरिन् कि अब यो लडाइँ केवल उनको व्यक्तिगत न्यायको लडाइँ होइन, यो हरेक नेपाली महिलाको आवाज हो। “म हरेक कानुनी, सामाजिक र नैतिक माध्यम अपनाउँदै न्याय खोज्नेछु। किनभने सत्य मेरो पक्षमा छ, र म एक्ली भए पनि अब पछि हट्दिन,” उनले दृढतापूर्वक भनिन्।
उनले यो भनाइसँगै ९ जुन २०२४ मा खिचिएको एउटा उदास तस्बिर पनि सामाजिक सञ्जालमा सार्वजनिक गरेकी छन्, जसमा अनुहारमा चोटजस्तै देखिने डामहरू देखिन्छन् र उनी थकित तथा बिरामी जस्तो देखिन्छिन्। यो तस्बिरले उनको भोगाइ र पीडा झन् स्पष्ट ढंगले उजागर गरिरहेको छ।
