News Desk
भ्वाइस अफ स्याट (Voice of SAAT) सिजन ४ अन्तर्गत श्रावण १२ र १३ गते ब्रेनल्याण्ड एकेडेमी हलमा मेगा अडिसन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमको समन्वय इसीए समितिका प्रमुख प्रशान्त दाहालले गरेका थिए। उक्त अडिसनमा २२ वटा विद्यालयका १५८ जना विद्यार्थीहरू सहभागी भएका थिए। तीमध्ये उत्कृष्ट १०० जना तथा १ जना वाइल्ड कार्ड सहित कुल १०१ जनालाई आगामी टप ५० राउण्डका लागि छनोट गरिएको आयोजकले जानकारी दिएका छन्।
यस सिजनमा अब टप ५०, टप २० र ग्रान्ड फिनाले गरी तीन चरणका राउण्डहरू बाँकी रहेका छन्। प्रतियोगिताको अघिल्लो अडिसन राउण्ड जेठ २८ गते ब्रुकलिन कलेजमा र जेठ ३० गते ब्रेनल्याण्ड हलमा सम्पन्न भएको थियो, जहाँ २२ वटा विद्यालयका ३४५ जना विद्यार्थीहरूले भाग लिएका थिए। तीमध्ये झापाको होली फील्ड एकेडेमीले डिजिटल अडिसनमार्फत सहभागी भएर प्रतियोगितालाई थप विविधता दिएको थियो।
यसअघि सम्पन्न सिजनहरूको विजेता क्रमशः सिजन १ (२०७९) मा नोब्स स्कूलका प्रिन्स परियार, सिजन २ (२०८०) मा ब्रेनल्याण्ड एकेडेमीकी भूमिका सुनुवार, र सिजन ३ (२०८१) मा पीक पोइन्ट एकेडेमीकी दिया घिमिरे रहेका छन्। भ्वाइस अफ स्याट सिजन ४ मा पनि सहभागीहरूको प्रभावशाली प्रस्तुति र उच्च प्रतिस्पर्धाले कार्यक्रमलाई अझै रोचक र आकर्षक बनाएको आयोजकको भनाइ छ।

