News Desk
लन्डन — आश्विन २७, २०७७।
कोभिड-१९ संक्रमितहरुको संख्या बढ्दै गएपछि बेलायत सरकारले लकडाउनसम्बन्धी नयाँ प्रतिबन्ध घोषणा गरेको छ ।
सोमबार ब्रिटिस संसद् हाउस अफ कमन्समा बोल्दै प्रधानमन्त्री बोरिस जोन्सनले कोरोना संक्रमणको जोखिम र संक्रमण दरका आधारमा मध्यम, उच्च र अति उच्च (टियर वान, टु एण्ड थ्री) गरी तीन तहको लकडाउन लागू गरिने घोषणा गरेका हुन् ।
साँझ ७ बजे उनले टेलिभिजन सम्बोधनमा पनि नयाँ प्रतिबन्धबारे जानकारी गराएका थिए । यसअघि जस्तो राष्ट्रव्यापी रुपमा लकडाउन भने नहुने उनले प्रष्टयाएका छन् । फेरि राष्ट्रव्यापी लकडाउन गर्नुपरे देशको अर्थतन्त्र बर्बाद हुने आकलन गरिएको छ ।
मध्यम जोखिम भएका ठाउँमा हाल जारी ‘रुल अफ सिक्स’ अर्थात् बाहिर र घरभित्र ६ जनासम्म भेला हुन पाइन्छ भने पब, बार तथा रेस्टुरेन्टहरु राति १० बजेभित्र बन्द गरिसक्नु पर्नेछ ।
यसैगरी उच्च जोखिम भएका स्थानमा हाल जारी नियमका साथै आफ्नो परिवार बाहेकका मानिससँग भेटघाट गर्न प्रतिबन्ध लगाइनेछ ।
अति उच्च जोखिम भएका स्थानमा भने पब, बार, रेस्टुरेन्टलगायत हस्पिटालिटी क्षेत्रहरु बन्द गरिनेछन् । तर पसल, स्कुल तथा विश्वविद्यालय भने खुल्ला रहनेछन् । इंग्ल्याण्डका धेरैजसो स्थानहरु ‘मध्यम’ जोखिममा रहेको बताइएको छ भने लिभरपुललाई बुधबारदेखि अति उच्च जोखिम क्षेत्रको रुपमा घोषणा गरिने भएको छ । संक्रमण बढिरहेको उक्त लिभरपुल सिटी क्षेत्रमा करिब १५ लाख मानिसको बसोबास छ ।
पछिल्लो सातासम्मको तथ्यांकअनुसार त्यस क्षेत्रमा हरेक १ लाख मानिसमा ६ सयमा संक्रमण भएको छ । तर इंग्ल्यान्डभर संक्रमणको औसत दर एक लाखमा ७४ जना रहेको बताइन्छ ।
हरेक १ लाख जनसंख्यामा १ सय भन्दा कम संक्रमित रहेको क्षेत्रलाई मध्यम, १ सय बढी संक्रमित रहेको क्षेत्रलाई उच्च र संक्रमण निकै उच्च रहेको क्षेत्रलाई अति उच्च अलर्ट लेभलमा राखिनेछ ।
सरकारले स्थानीय निकायलाई करिब एक बिलियन पाउण्ड नयाँ आर्थिक सहायता दिने जनाउँदै काउन्सिलसँग सहकार्य गरी प्रतिबन्ध कार्यान्वयन गर्ने जनाएको छ ।
लकडाउनका नियममा हरेक महिना पुनर्विचार गरिनेछ । प्रधानमन्त्री जोन्सनले प्रभावकारी ढंगले कार्यान्वयन गरे भाइरस रोकथामका लागि नयां नियम पर्याप्त भएको जिकिर गरेका छन् ।
तर, यस्तो लकडाउनले तीव्र रुपमा फैलँदो कोभिड संक्रमण नियन्त्रण गर्ला भन्नेमा इंग्ल्याण्डका प्रमुख चिकित्सा अधिकृत नै विश्वस्त छैनन् ।
बेलायतमा सोमबारमात्र १३ हजार ९ सय ७२ नयां संक्रमित थपिएका छन् भने ५० जनाको ज्यान गएको छ ।
बेलायत कोभिड १९ केसका हिसाबले गत साता विश्वमा चौंथो नम्बरमा थियो । विश्व स्वास्थ्य संगठनका डा. मार्गरेट हयारिसका अनुसार संक्रमण दरमा बेलायत भारत, अमेरिका र ब्राजिलपछि रहेको हो । गत सातामात्र बेलायतमा एक लाख १० हजार ८ सय २७ नयाँ केस थपिएको थियो ।
(एजेन्सी/कान्तिपुर दैनिक)