News Desk
चितवन,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदका लागि पार्टीका संस्थापक नेता मोहन थापाले उम्मेदवारी दर्ता गराएका छन्। गण्डकी प्रदेशको भूगोलतर्फबाट प्रतिस्पर्धामा उत्रिएका थापाले पार्टी निर्माणदेखि संगठन विस्तारसम्म आफूले निर्वाह गरेको भूमिकालाई निरन्तरता दिन नेतृत्वमा पुगेर थप जिम्मेवारी वहन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
रास्वपाको स्थापना र संगठन विस्तारको प्रारम्भिक चरणदेखि नै सक्रिय रहँदै आएका थापा पार्टीका संस्थापक सदस्यमध्येका एक हुन्। पार्टी सभापति रवि लामिछानेले नयाँ राजनीतिक शक्तिको रूपमा रास्वपाको घोषणा गर्दा सुरुवाती अभियानमा थापा अग्रपंक्तिमा रहेर खटिएका थिए। देशभर संगठन विस्तार, जनसम्पर्क अभियान र पार्टीको विचार जनतामाझ पुर्याउने कार्यमा उनले महत्वपूर्ण भूमिका खेलेका थिए।
लामो समय अमेरिका बसोबास गरेका थापाले व्यक्तिगत सुविधा र अवसरभन्दा देशको भविष्यलाई प्राथमिकता दिँदै स्वदेश फर्किएर राजनीतिमा सक्रिय हुने निर्णय गरेका थिए। देशमा सुशासन, पारदर्शिता र जवाफदेहितामा आधारित नयाँ राजनीतिक संस्कार स्थापित गर्ने उद्देश्यसहित उनी रास्वपाको अभियानमा जोडिएका थिए। पार्टीका नेताहरूका अनुसार थापा सुरुदेखि नै पद र प्रतिष्ठाभन्दा संगठन निर्माण तथा अभियान सफल बनाउन केन्द्रित नेताका रूपमा परिचित छन्।
रास्वपाको कठिन र चुनौतीपूर्ण प्रारम्भिक यात्रामा थापाले निस्वार्थ रूपमा दिएको योगदानलाई पार्टीभित्र सकारात्मक रूपमा हेरिएको छ। पार्टी गठनको समयदेखि विभिन्न राजनीतिक कार्यक्रम, अभियान र संगठनात्मक गतिविधिमा उनी निरन्तर सक्रिय रहँदै आएका छन्। पार्टीलाई वैकल्पिक राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने अभियानमा उनले निर्वाह गरेको भूमिकालाई महाधिवेशन प्रतिनिधिहरूले समेत महत्वका साथ हेरिरहेका छन्।
केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएसँगै थापाले महाधिवेशन प्रतिनिधिहरूसँग भेटघाटलाई तीव्र बनाएका छन्। उनले पार्टीलाई थप सुदृढ, व्यवस्थित र जनमुखी बनाउन आफ्नो अनुभव तथा योगदान उपयोगी हुने विश्वास व्यक्त गरेका छन्। साथै, पार्टीभित्र आन्तरिक लोकतन्त्र, संगठनात्मक मजबुती र जनताप्रतिको उत्तरदायित्वलाई अझ प्रभावकारी बनाउन आफूले सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन्।
थापाले महाधिवेशन प्रतिनिधिहरूसमक्ष आफूलाई मतदान गरी विजयी गराउन हार्दिक अपिलसमेत गरेका छन्। उनले रास्वपाको सुरुवाती दिनदेखि आजसम्म आफूले पार्टीको हित, संगठनको मजबुती र देशको आवश्यकतालाई केन्द्रमा राखेर काम गरेको उल्लेख गर्दै आगामी दिनमा पनि त्यही समर्पणका साथ अघि बढ्ने बताएका छन्।
“रास्वपाको स्थापना कालदेखि नै मैले पार्टीको सिद्धान्त, उद्देश्य र अभियानलाई आत्मसात् गर्दै निष्ठापूर्वक काम गरेको छु। देशमा सकारात्मक परिवर्तन ल्याउने अभियानलाई थप सशक्त बनाउन, संगठनलाई अझ बलियो बनाउन र जनअपेक्षाअनुसारको राजनीतिक संस्कार स्थापित गर्न मलाई मतदान गरी सहयोग गर्नुहुनेछ भन्ने विश्वास लिएको छु,” थापाले बताएका छन्।
रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनबाट चयन हुने नयाँ नेतृत्वले आगामी दिनमा पार्टीको संगठनात्मक संरचना, राजनीतिक कार्यदिशा र भावी रणनीति निर्धारण गर्ने भएकाले नेतृत्व चयनलाई विशेष चासोका साथ हेरिएको छ। यही क्रममा संस्थापक नेता मोहन थापाको उम्मेदवारीलाई पनि महाधिवेशनको महत्वपूर्ण प्रतिस्पर्धामध्ये एकका रूपमा लिइएको छ। देश निर्माणको लक्ष्य बोकेर विदेशको सुविधा त्यागी स्वदेश फर्किएका थापाले अब पार्टीको केन्द्रीय नेतृत्वमा पुगेर परिवर्तनको अभियानलाई थप प्रभावकारी बनाउने लक्ष्यसहित मतदातामाझ समर्थन मागिरहेका छन्।