News Desk
काठमाडौं, साउन २ l सोफा हब काठमाडौं प्रा.लि.ले आफ्नो छैटौँ वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ। समारोहका प्रमुख अतिथि नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले सोफा हबलाई युवा उद्यमशीलता, स्वदेशी उत्पादन तथा सफल ब्रान्ड निर्माणको उदाहरणका रूपमा प्रशंसा गर्दै नेपालमै बसेर पनि सफल व्यवसाय निर्माण गर्न सकिने सन्देश दिएको बताए।
उनले छोटो अवधिमै देशभर ११ वटा शाखामार्फत सेवा विस्तार गर्न सफल हुनु योजनाबद्ध व्यवस्थापन, गुणस्तरीय उत्पादन, ग्राहकप्रतिको प्रतिबद्धता तथा निरन्तर परिश्रमको परिणाम भएको उल्लेख गरे। साथै, हेटौंडा औद्योगिक क्षेत्रमा स्थापना गरिएको फोम उद्योगले आयात प्रतिस्थापन, स्थानीय उत्पादन प्रवर्द्धन तथा रोजगारी सिर्जनामा योगदान पुर्याउने विश्वास व्यक्त गरे।
अग्रवालले उद्योग तथा व्यापारको दिगो विकासका लागि नीतिगत स्थिरता, लगानीमैत्री वातावरण र सरकार-निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै नेपाल चेम्बर अफ कमर्सले निजी क्षेत्रका समस्या समाधान, स्वदेशी उद्योगको प्रवर्द्धन, स्टार्टअप तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्न निरन्तर पहल गरिरहेको जानकारी दिए। उनले बजेट तथा मौद्रिक नीतिसम्बन्धी सुझाव सरकारसमक्ष प्रस्तुत गरिएको तथा प्रधानमन्त्रीसँगको भेटमा निजी क्षेत्रका समस्या, नीतिगत सुधार र आर्थिक गतिविधि चलायमान बनाउने विषयमा छलफल भएको बताए। साथै, 'मेड इन नेपाल' उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने दिशामा सोफा हबले अझ प्रभावकारी रूपमा अघि बढ्न सकोस् भन्ने शुभेच्छासहितको शुभकामना व्यक्त गरे।
सो अवसरमा कम्पनीका अध्यक्ष तारालाल धरेलले कर्मचारी, शुभेच्छुक तथा ग्राहकवर्गको निरन्तर साथ र विश्वासका कारण सोफा हब छोटो समयमै स्थापित ब्रान्ड बन्न सफल भएको बताए। उनले जनकपुरमा १२औँ शाखा सञ्चालनको तयारी पूरा भइसकेको र दाङमा पनि छिट्टै नयाँ शाखा सञ्चालन गरिने जानकारी दिए। गुणस्तरीय सेवा, ग्राहक सन्तुष्टि र नेपाली उत्पादनलाई प्राथमिकतामा राखेर कम्पनी अघि बढ्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे।
कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य हिमेश पन्त, आमाछोदिङ्मो गाउँपालिकाका अध्यक्ष बुर्चुङ तामाङ, काठमाडौं उद्योग वाणिज्य संघका महासचिव प्रेमहरि मैनाली, वरिष्ठ पर्यटन व्यवसायी एवं समाजसेवी रामप्रसाद सापकोटा, हास्य कलाकार सन्दीप क्षेत्री, स्थानीय जनप्रतिनिधि अनिल थापा तथा कन्टेन्ट क्रियेटर सम्राट अधिकारीले शुभकामना व्यक्त गर्दै सोफा हबले कोभिड–१९ महामारी, आगलागीलगायत चुनौतीपूर्ण परिस्थितिलाई सामना गर्दै छोटो समयमै नेपालको अग्रणी फर्निचर ब्रान्डका रूपमा स्थापित हुनु उल्लेखनीय उपलब्धि भएको बताए।
वार्षिकोत्सवका अवसरमा रातोपाटी डटकमका समाचार उप–प्रमुख राजकुमार सिग्देललाई नगद २० हजारसहित सम्मान गरिएको थियो। साथै, कन्टेन्ट क्रियेटर भिडियो प्रतियोगितामा अनिश चापागाईं प्रथम हुँदै नगद एक लाख रुपैयाँ, टिम ४४४ द्वितीय हुँदै ५० हजार रुपैयाँ तथा सागर पाण्डे र श्रीजन श्रेष्ठ संयुक्त रूपमा तृतीय हुँदै जनही २५ हजार रुपैयाँ नगदसहित पुरस्कृत भएका थिए।
यस अवसरमा विभिन्न कलाकारहरूले सांगीतिक तथा सांस्कृतिक प्रस्तुति दिएका थिए । कार्यक्रममा कर्मचारी परिवार, उद्योगी-व्यवसायी, पत्रकार तथा शुभेच्छुकहरूको उल्लेख्य सहभागिता रहेको थियो।