आज प्रतिनिधिसभा बैठक बस्दै, पाँच विधेयक प्रस्तुत हुने
News Desk
Aug-07 तारिख 06:25 बिहान • आज

काठमाडौं, साउन २२ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे सिंहदरबारस्थित संसद् भवनमा बस्ने भएको छ। बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित पाँचवटा महत्त्वपूर्ण विधेयक तथा एक समितिको प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ।

संसद् सचिवालयका अनुसार राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८३’ सदनमा पेस गर्नुहुनेछ।

त्यसपछि प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक, सेवाका शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

यस्तै, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ सदनमा दर्ता गराउनुहुनेछ भने महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता बादीले ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३’ पेस गर्नुहुनेछ।

त्यसैगरी, परराष्ट्रमन्त्री शिशिर खनालले ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३’ प्रतिनिधिसभामा प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

आज तीन संसदीय समितिको पनि बैठक

प्रतिनिधिसभा बैठकसँगै आज तीनवटा संसदीय समितिको बैठक पनि बस्ने भएको छ।

बिहान १०:३० बजे बस्ने अन्तरराष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा ‘पर्यटन विधेयक, २०८१’ सम्बन्धमा विषयविज्ञहरूसँग छलफल गरिनेछ।

त्यस्तै, बिहान १० बजे बस्ने कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा र कैदीबन्दीहरूको मानवअधिकार अवस्थाबारे अध्ययन उपसमितिले तयार पारेको प्रतिवेदनमाथि छलफल हुनेछ।

यसैगरी, पूर्वाधार विकास समितिको बैठकमा विद्युत् वितरण लाइन तथा पोल व्यवस्थापनमा देखिएको समस्या र त्यसका कारण सडक निर्माणमा परेको प्रभावबारे सम्बन्धित निकायसँग छलफल गर्ने कार्यसूची रहेको छ।

धेरै पढिएको