‘गति बढाऊ, तर संविधानको लेन नछोड’ : सभापति थापा
News Desk
Aug-10 तारिख 06:50 बिहान • आज

काठमाडौं l नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारलाई कामको गति तीव्र बनाउन सकिने भए पनि संविधान, कानुन र विधिको सीमाभित्रै रहेर अघि बढ्न चेतावनी दिनुभएको छ।

आइतबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै थापाले सरकार आफ्नो घोषित उद्देश्य र मार्गबाट विचलित हुन थालेको भन्दै सचेत गराउनुभयो।

प्रधानमन्त्री शाहले आफूलाई ‘ब्रेक नभएको गाडी’का रूपमा प्रस्तुत गरेको प्रसंग उल्लेख गर्दै थापाले सरकारलाई तीव्र गतिमा अघि बढ्न कसैले नरोक्ने तर संविधान र कानुनी प्रक्रियाको सीमा उल्लङ्घन गर्न नदिइने स्पष्ट पार्नुभयो।

उहाँले भन्नुभयो, “स्पीड बढाउन सक्नुहुन्छ, ब्रेक नलगाउन सक्नुहुन्छ, तर लेन मिच्न दिँदैनौँ।”

थापाले सरकारका निर्णय र कामकारबाहीमाथि प्रमुख प्रतिपक्षी दलका रूपमा कांग्रेसले निरन्तर निगरानी राख्ने बताउनुभयो। सरकार गलत दिशातर्फ अघि बढे आवश्यक खबरदारी र हस्तक्षेप गरिने उहाँको भनाइ थियो।

संविधान, विधिको शासन र लोकतान्त्रिक प्रक्रियालाई कमजोर पार्ने कुनै पनि गतिविधि स्वीकार्य नहुने भन्दै थापाले सरकारलाई निर्धारित संवैधानिक बाटोबाट अघि बढ्न आग्रह गर्नुभयो।

धेरै पढिएको