दोलालघाटमा सुनकोशीमा बेपत्ता तिलकुमारीको शव भेटियो, श्रीमान् अझै बेपत्ता
News Desk
Aug-10 तारिख 07:00 बिहान • आज

काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ दोलालघाटस्थित दुलालेश्वर महादेव मन्दिर नजिकैबाट सुनकोशी नदीमा बेपत्ता भएकी ६७ वर्षीया तिलकुमारी पराजुलीको शव फेला परेको छ।

मण्डनदेउपुर नगरपालिका–७ की पराजुलीको शव ओखलढुंगाको सीमाक्षेत्रस्थित सुनकोशी नदीकिनारमा फेला परेको प्रहरीले जनाएको छ। शव भेटिएपछि प्रहरीले पहिचानका लागि परिवारलाई फोटो पठाएको थियो। परिवारले काटिएको कपाल तथा पिसाब थैलीलगायतका आधारमा शव तिलकुमारीकै भएको पुष्टि गरेको प्रहरीको भनाइ छ।

तिलकुमारीसँगै सुनकोशीमा बेपत्ता भएका उनका ६८ वर्षीय श्रीमान् केदारनाथ पराजुलीको भने अझै अवस्था अज्ञात छ। उनको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरीको गोताखोर टोली तथा स्थानीयवासी निरन्तर परिचालित छन्।

प्रारम्भिक अनुसन्धानअनुसार तिलकुमारी लामो समयदेखि बोनम्यारो क्यान्सरबाट पीडित थिइन्। प्रत्यक्षदर्शीको भनाइ तथा घटनास्थलमा रहेको सीसीटीभी फुटेजका आधारमा केदारनाथले तिलकुमारीलाई पिठ्युँमा बोकेर दोलालघाटसम्म ल्याई त्यसपछि नदीमा हाम फालेको खुलेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। साथै बेपत्ता केदारनाथको खोजीलाई तीव्र बनाइएको छ।

धेरै पढिएको