भोटेकोशी बाढी प्रभावित नुवाकोटमा खोज तथा उद्धार अभियान थप तीव्र
News Desk
Sep-07 तारिख 06:31 बिहान

भोटेकोशी बाढी प्रभावित नुवाकोटमा खोज तथा उद्धार अभियान थप तीव्र

नुवाकोट । भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित नुवाकोटमा बेपत्ता व्यक्तिको खोजी तथा उद्धार अभियानलाई थप तीव्र पारिएको छ। बाढी आएको ११ दिनपछि पनि एक महिलाको सकुशल उद्धार हुनुले थप व्यक्तिको जीवितै उद्धार हुन सक्ने आशा कायम रहेकाले सुरक्षा निकायले विभिन्न स्थानमा केन्द्रित भएर खोजी अभियान सञ्चालन गरिरहेका छन्।

शनिबार विदुर नगरपालिका–१० वेत्रावतीबाट ६४ वर्षीया एक महिलाको बाढी आएको ११ दिनपछि सकुशल उद्धार गरिएको थियो। उक्त घटनापछि नुवाकोटमा जारी खोज तथा उद्धार अभियानलाई अझ प्रभावकारी बनाउने निर्णय गरिएको हो।

विदुरमा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा सूचना तथा सञ्चारमन्त्री तथा नुवाकोट–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा. विक्रम तिमिल्सिनाले केही दिनसम्म सूक्ष्म र व्यापक रूपमा खोज तथा उद्धार कार्य जारी राख्न निर्देशन दिनुभएको थियो।

नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीका अनुसार वेत्रावतीमा ११ दिनपछि भएको सफल उद्धारले अझै अन्य बेपत्ता व्यक्तिको खोजीमा आशा जगाएको छ। यही सम्भावनालाई ध्यानमा राख्दै सुरक्षा निकायलाई उपलब्ध सम्पूर्ण स्रोतसाधन प्रयोग गरी खोजी तीव्र बनाउन निर्देशन दिइएको उहाँले बताउनुभयो।

हाल सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले तालिमप्राप्त कुकुरको सहयोगमा जिल्लाका विभिन्न ३० स्थानमा खोजतलास अभियान सञ्चालन गरिरहेका छन्। बाढीबाट क्षतिग्रस्त तथा पुरिएका घर, भवन र अन्य संरचनाको समेत सूक्ष्म रूपमा खोजी भइरहेको छ।

यसैक्रममा आइतबार विदुर नगरपालिका–१ त्रिशूली बजारबाट दुईवटा तथा वडा नम्बर ३ सिर्खालीबाट एउटा शव फेला परेको छ। सुरक्षा निकायले घटनास्थल र आसपासका क्षेत्रमा खोजी कार्यलाई निरन्तरता दिएका छन्।

प्रमुख जिल्ला अधिकारी रेग्मीले आवश्यक परे नेपाली सेनाको सहयोगसमेत लिइने बताउनुभयो। उहाँका अनुसार सशस्त्र प्रहरी र नेपाल प्रहरीले उपलब्ध स्रोतसाधनको अधिकतम प्रयोग गर्दै पुरिएका तथा क्षतिग्रस्त घरका प्रत्येक कोठा र कुना–काप्चासम्म पुगेर खोजी गरिरहेका छन्।

उहाँले उद्धार अभियानमा खटिएका सुरक्षाकर्मीलाई आवश्यक सहयोग र सहजीकरण गर्न स्थानीय बासिन्दासँग समेत आग्रह गर्नुभएको छ।

जिल्ला विपद् व्यवस्थापन समितिको तथ्याङ्कअनुसार भोटेकोशी बाढीका कारण नुवाकोटमा मात्रै दुई हजार ६७३ जना बेपत्ता भएका छन्। स्थानीय तहबाट थप विवरण सङ्कलन भइरहेकाले बेपत्ता हुनेको सङ्ख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ।

बाढीबाट विदुर र बेलकोटगढी नगरपालिका तथा किस्पाङ र तारकेश्वर गाउँपालिका सबैभन्दा बढी प्रभावित भएका छन्। वेत्रावती, भैँसेँ, तुप्चे, त्रिशूली, ढुङ्गे, देवीघाटलगायत जिल्लाका प्रमुख बस्ती र बजार क्षेत्र बाढीपछि बगरजस्तै बनेका छन्।

बाढीले ठूलो जनधनको क्षति पुर्‍याउनुका साथै धेरै घर तथा संरचना पुरिएका र केही बगाएर अन्य स्थानमा पुर्‍याएको छ। यसै कारण बेपत्ता व्यक्तिको खोजीलाई प्राथमिकतामा राख्दै संयुक्त सुरक्षा फौजले प्रभावित क्षेत्रमा खोज तथा उद्धार अभियानलाई निरन्तर र थप तीव्र बनाएको छ।

बाढी प्रभावित क्षेत्रमा अझै कसैको जीवन बचाउन सकिने सम्भावनालाई ध्यानमा राख्दै सुरक्षा निकायले केही दिनसम्म खोज तथा उद्धार कार्यलाई उच्च प्राथमिकताका साथ जारी राख्ने जनाएको छ।

धेरै पढिएको