बाल उज्वल माविमा अभिनय कार्यशाला सुरु
News Desk
Sep-25 तारिख 07:06 बिहान


नमोबुद्ध (काभ्रे), असोज ८

विद्यार्थीहरूको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले नमोबुद्ध नगरपालिकाको आयोजनामा वडा नं. १० स्थित बाल उज्वल माध्यमिक विद्यालयमा अभिनय प्रशिक्षण तथा नाटक लेखन कार्यशाला सुरु भएको छ । असोज ७ गतेदेखि औपचारिक रूपमा सुरु भएको यस कार्यशालामा नाटककार, रंगकर्मी तथा निर्देशक पुरु लम्साल प्रमुख प्रशिक्षकको रूपमा रहनुभएको छ ।
विद्यालयका प्रधानाध्यापक उद्धव सुवेदीको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा नमोबुद्ध नगरपालिका वडा नं. १० का वडाध्यक्ष रामकृष्ण उपाध्याय प्रमुख अतिथि रहनुभएको थियो । त्यसैगरी, नगरपालिकाका महिला, बालबालिका तथा समाज कल्याण शाखा प्रमुख तारादेवी सुनुवार विशेष अतिथि रहनुभएको कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक घनश्याम विश्वकर्माले गर्नुभएको थियो ।
कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि वडाध्यक्ष उपाध्यायले यो कार्यशाला विद्यार्थीहरूको व्यक्तित्व विकासका लागि सुनौलो अवसर भएको बताउनुभयो । उहाँले भन्नुभयो, “भाइबहिनीहरूले यसलाई आफ्नो भविष्यका लागि उपयोगी शिक्षाका रूपमा लिन सक्नुहुन्छ । यसले व्यक्तिको समग्र व्यक्तित्व विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ ।” कार्यशालाबाट अभिनय तथा लेखनको सीप सिकेर आगामी दिनमा टेलिचलचित्र, चलचित्र, नाटक र म्युजिक भिडियोजस्ता माध्यममा कला प्रस्तुत गर्ने अवसर मिल्ने विश्वास व्यक्त गर्दै उहाँले यसले बालबालिकाहरूलाई पढाइमा समेत थप केन्द्रित गराउन मद्दत पुगोस् भन्ने अपेक्षा राख्नुभयो ।
त्यसैगरी, विशेष अतिथि एवम् नगरपालिकाका महिला, बालबालिका तथा समाज कल्याण शाखा प्रमुख तारादेवी सुनुवारले अभिनय कार्यशालाको आवश्यकता र औचित्यमाथि प्रकाश पार्दै यो कार्यक्रम नगरपालिकालाई 'बालमैत्री नगरपालिका' घोषणा गर्ने अभियानसँग जोडिएको बताउनुभयो । उहाँले भन्नुभयो, “सधैँ बाहिरबाट कलाकारहरू ल्याएर नाटक देखाउनुभन्दा आफ्नै विद्यालयका भाइबहिनीहरूलाई सीप सिकाउनुमा ठूलो फरक हुन्छ । भोलि आवश्यकता पर्दा यी बालबालिका आफैँले नाटक तयार पार्न सकून् भन्ने प्रमुख उद्देश्य हो ।”
पहिलो दिनको कार्यशालामा ४६ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो । तर, यतिका धेरै विद्यार्थीलाई एकसाथ तालिम सञ्चालन गर्न कठिनाइ हुने हुँदा अडिसनमार्फत २५ देखि २८ जना मात्र विद्यार्थी छनोट गरिने जानकारी प्रमुख प्रशिक्षक पुरु लम्सालले दिनुभयो । साथै, यस कार्यशालामा अभिनय प्रशिक्षणसँगै नाटक लेखन कार्यशालासमेत सञ्चालन हुने उहाँले जानकारी दिनुभयो ।
कार्यक्रमका अध्यक्ष तथा विद्यालयका प्रधानाध्यापक उद्धव सुवेदीले प्रमुख प्रशिक्षक पुरु लम्साल एक सिर्जनात्मक र सक्रिय रंगकर्मी रहेको उल्लेख गर्दै, उहाँसँग भएको सीप र क्षमतालाई विद्यार्थीहरूले राम्रोसँग आत्मसात् गरी जीवनोपयोगी बनाउनेमा पूर्ण विश्वास व्यक्त गर्नुभयो । 
२० दिनसम्म चल्ने यस कार्यशालाले स्थानीय तहमा कलाको विकासमा महत्त्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ ।