News Desk
ताप्लेजुङ, असोज १२ गते ।ताप्लेजुङको दोस्रो ठूलो व्यापारिक केन्द्रका रूपमा रहेको मेरिङ्देन गाउँपालिका–३ स्थित दोभान बजारमा छ वर्षको अवधिमा दुईपटक ठूलो आगलागी भएको छ। यसअघि भएको आगलागीबाट विस्तारै पुनःस्थापित हुँदै गरेका बजारवासी बिहीबारको आगलागीपछि फेरि विस्थापित भएका छन्।
बिहीबार भएको आगलागीमा आठ परिवारका १० घर तथा १७ वटा पसल जलेका छन्। आगलागीबाट घर तथा व्यवसाय गुमाएका परिवार अहिले आफन्त तथा छरछिमेकीको आश्रयमा बसिरहेका छन्। केही पीडित भने जलेका सामान र भग्नावशेष हटाउने, बस्न मिल्ने घर सफा गर्ने तथा पुनर्निर्माणको तयारीमा जुटेका छन्।
पीडितहरूले तत्कालको राहतभन्दा दीर्घकालीन पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारी सहयोग आवश्यक रहेको बताएका छन्। उनीहरूले व्यवसाय पुनःसञ्चालनका लागि सहुलियतपूर्ण तथा बिनाब्याज ऋणको व्यवस्था गर्न माग गरेका छन्।
स्थानीय व्यवसायीका अनुसार बजार नदी तथा खोलाको किनारमा रहेकाले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिनसमेत कठिनाइ हुँदै आएको छ। बाढी तथा अन्य विपद्को जोखिम देखाउँदै वित्तीय संस्थाले लगानी गर्न आनाकानी गर्ने गरेको उनीहरूको भनाइ छ।
आगलागीपीडित परिवार तत्कालका लागि आफन्त तथा छरछिमेकीको घरमा आश्रय लिएर बसेका छन्। मौसममा सुधार आएपछि जलेका सामान तथा भग्नावशेष पन्छाउने र सम्भव भएका संरचनाको व्यवस्थापन तथा पुनर्निर्माणको काम अघि बढाइएको छ।
जिल्ला विपद् व्यवस्थापन समिति, स्थानीय तह, उद्योग वाणिज्य सङ्घ, नेपाल रेडक्रस सोसाइटीलगायत सरकारी तथा गैरसरकारी निकायले पीडित परिवारलाई राहत रकम तथा विभिन्न सामग्री उपलब्ध गराएका छन्। तर पीडितहरूले राहतसँगै पुनःस्थापना र पुनर्निर्माणका लागि विशेष प्याकेज आवश्यक रहेको बताएका छन्।
प्रारम्भिक विवरणअनुसार आगलागीबाट करिब १४ करोड ५० लाख रुपैयाँ बराबरको क्षति भएको छ। सदरमुकाम फुङ्लिङबाट दमकल, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।
दोभान बजारमा करिब ८० वटा घर तथा पसल रहेका छन्। यसअघि २०७७ साल फागुनमा भएको ठूलो आगलागीमा ४९ घर जलेका थिए भने करिब ४० करोड रुपैयाँभन्दा बढीको क्षति भएको थियो।
छ वर्ष नपुग्दै पुनः ठूलो आगलागी भएपछि बजारवासी आर्थिक, पारिवारिक तथा सामाजिक संकटमा परेका छन्। स्थानीयले बजारमा आगलागी नियन्त्रण तथा सम्भावित क्षति न्यूनीकरणका लागि दीर्घकालीन योजना आवश्यक रहेको बताएका छन्।
पछिल्लो समय विद्युत्का कारण आगलागीका घटना बढ्दै गएको भन्दै विद्युतीय उपकरण तथा वायरिङको सुरक्षित प्रयोगबारे जनचेतना बढाउनुपर्नेमा स्थानीयले जोड दिएका छन्। विपद्का बेला तत्काल प्रयोग हुने दमकल, उद्धार तथा प्रतिकार्य सामग्रीको सहज उपलब्धता सुनिश्चित गर्नसमेत सम्बन्धित निकायसँग माग गरिएको छ।