News Desk
काठमाडौं, १९ असोज २०८३ । कांग्रेस नेतृ, महिला उद्यमी एवम् सामाजिक अभियन्ता शान्ता बाँस्कोटा कोइरालाले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्।
पाँचथरबाट १५औँ महाधिवेशनका लागि चयन भएका ३४ जना महाधिवेशन प्रतिनिधिमध्ये खुला महिलातर्फ निर्वाचित भएकी उनले पार्टीको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेकी हुन्।
राजनीतिसंगै व्यवसाय, अर्गानिक कृषि, सामाजिक सेवा र महिला उद्यमशीलताको क्षेत्रमा लामो समयदेखि सक्रिय बाँस्कोटाले आफ्नो व्यावसायिक तथा सामाजिक अनुभवलाई कांग्रेसको नीति निर्माण र केन्द्रीय राजनीतिसँग जोड्ने लक्ष्य लिएकी छन्।
को हुन् शान्ता बाँस्कोटा?
पाँचथरमा जन्मिएकी बाँस्कोटा पूर्वगृह राज्यमन्त्री तथा सहकारी र अर्गानिक कृषि अभियानमा सक्रिय दीपकप्रकाश बाँस्कोटाकी छोरी हुन्। राजनीतिक परिवारमा हुर्किए पनि उनले उद्यमशीलता, कृषि, सामाजिक सेवा र महिला नेतृत्वका क्षेत्रमा आफ्नै पहिचान बनाएकी छन्।
उनी कञ्चनजंघा टी इस्टेट एन्ड रिसर्च सेन्टर (KTERC) की निर्देशक हुन्। फिदिमको पहाडी क्षेत्रमा सञ्चालन हुँदै आएको संस्थाले अर्गानिक चिया, जडीबुटी तथा मसला उत्पादन, प्रशोधन र बजारीकरण गर्दै आएको छ। संस्थागत विवरणअनुसार यसको अर्गानिक कृषि अभियानमा ४१८ जना साना किसान जोडिएका छन् भने चिया बगान तथा कारखानामा करिब १५० जना श्रमिक कार्यरत छन्, जसमध्ये अधिकांश महिला छन्।
सन् १९८४ मा स्थापना भएको कञ्चनजंघा टी इस्टेट नेपालका प्रारम्भिक प्रमाणित अर्गानिक चिया उत्पादन केन्द्रमध्ये एक हो। यहाँ उत्पादित चिया अन्तर्राष्ट्रिय बजारमा समेत निर्यात हुँदै आएको छ। संस्थागत विवरणअनुसार उत्पादनले NAASA, JAS र USDA लगायतका अर्गानिक प्रमाणीकरण प्राप्त गरेको छ।
उद्यमशीलता र महिला नेतृत्व
बाँस्कोटा अर्गानिक कृषि, निर्यात तथा महिला उद्यमशीलतासम्बन्धी विभिन्न संस्थामा सक्रिय छिन्। उनी अर्गानिक एशोसिएसन नेपालकी संस्थापक तथा महासचिवका रूपमा समेत आबद्ध रहेको विवरण सार्वजनिक छ। साथै, उनी सांग्रिला एग्रो वल्र्डलगायतका व्यवसायिक संस्थासँग पनि जोडिएकी छन्।
अर्गानिक उत्पादन, किसानसँगको सहकार्य, मूल्य शृंखला विकास तथा निर्यात प्रवर्द्धनलाई उनले आफ्नो व्यावसायिक यात्राको महत्वपूर्ण आधार बनाउँदै आएकी छन्।
विभिन्न पुरस्कारबाट सम्मानित
उद्यमशीलता र व्यवसायिक क्षेत्रमा योगदान पुर्याएबापत बाँस्कोटा विभिन्न पुरस्कारबाट सम्मानित भएकी छन्। सन् २०२१ मा NewBiz Business Women Summit and Awards अन्तर्गत उनलाई ‘Women Entrepreneur of the Year 2021’ प्रदान गरिएको थियो।
उनलाई राष्ट्रिय महिला सेवा पुरस्कार, राष्ट्रिय चिया विकास पुरस्कारलगायतका सम्मानसमेत प्राप्त भएको सार्वजनिक विवरणमा उल्लेख छ।
शिक्षा र सामाजिक क्षेत्रमा पनि सक्रिय
समाजशास्त्रमा स्नातकोत्तर तथा एमफिल तहसम्म अध्ययन गरेकी बाँस्कोटा अर्गानिक कृषि, व्यवस्थापन, बजारीकरण, नेतृत्व र उद्यमशीलतासम्बन्धी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रम र सम्मेलनमा सहभागी हुँदै आएकी छन्।
व्यवसायसँगै सामाजिक क्षेत्रमा पनि उनको सक्रियता छ। उनी आबद्ध संस्थामार्फत श्रमिक तथा स्थानीय समुदायको जीविकोपार्जन, शिक्षा र सामाजिक उत्तरदायित्वसँग सम्बन्धित कार्यक्रम सञ्चालन हुँदै आएको बताइएको छ। उनी गिरिजाप्रसाद कोइराला फाउन्डेसनसँग समेत आबद्ध रहेकी छन्।
अब केन्द्रीय राजनीतितर्फ
कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेसँगै बाँस्कोटाले उद्यमशीलता, कृषि र सामाजिक क्षेत्रको आफ्नो अनुभवलाई पार्टीको नीति निर्माणमा उपयोग गर्ने लक्ष्य अघि सारेकी छन्।
महिला उद्यमशीलताको प्रवर्द्धन, किसानको आयआर्जन वृद्धि, स्थानीय उत्पादनको बजारीकरण, अर्गानिक कृषि, निर्यात विस्तार र ग्रामीण अर्थतन्त्रको विकासलाई उनले प्राथमिकताका विषय बनाएकी छन्।
पाँचथरको पहाडी क्षेत्रमा अर्गानिक चिया उत्पादन र निर्यातमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचान बनाएकी बाँस्कोटाको राजनीतिक यात्रा अब कांग्रेसको केन्द्रीय नेतृत्वतर्फ उन्मुख भएको छ। उनको उम्मेदवारीले उद्यमशीलता र सामाजिक क्षेत्रको अनुभव बोकेको महिला नेतृत्वलाई कांग्रेसको केन्द्रीय राजनीतिमा अघि बढाउने प्रयासका रूपमा पनि हेरिएको छ।