News Desk
काठमाडौं,काग तिहार २०८३ को अवसरमा चर्चित एबम बहुप्रतिभाशाली कलाकार रमेश दुलाल ‘कागे’ले काठमाडौंको दरबारमार्गस्थित नारायणहिटी दरबार संग्रहालय अगाडि सयौँ काग बोलाएर २३औँ काग सम्मेलन गरेका छन्।
शनिबार बिहान कागको आवाज निकाल्दै दुलालले आकाशमा उडिरहेका कागलाई एकै ठाउँमा जम्मा पारेका हुन्। राष्ट्रिय संगीतकर्मी संघ केन्द्रीय कार्यसमितिको आयोजना तथा इलामको सन्दकपुर गाउँपालिकाको सह–आयोजनामा सम्मेलन गरिएको हो।
कार्यक्रमको मुख्य प्रायोजकमा एनआरएनए वरिष्ठ उपाध्यक्ष रोबिन शेरचन, प्रायोजकमा एनआरएनए उपाध्यक्ष प्रवीण गुरुङ तथा सहप्रायोजकका रूपमा पूर्णप्रसाद लामिछाने, राजेश कार्की, रुद्रप्रसाद चापागाईं, शंकरप्रसाद आचार्य, ग्रीन सिटी हस्पिटल र कोरा होलिडेजलगायतको सहयोग रहेको थियो।
काग तिहारको धार्मिक तथा सांस्कृतिक महत्त्वलाई उजागर गर्नुका साथै नेपाली मौलिक परम्पराको संरक्षण र चराचुरुङ्गीप्रति सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको आयोजकले जनाएको छ।
काग तिहार यमपञ्चकको पहिलो दिन मनाइने पर्व हो। नेपाली हिन्दू परम्परामा कागलाई यमराजको दूतका रूपमा मानिन्छ। कागले शुभ समाचार ल्याउँछ भन्ने धार्मिक विश्वासका साथ यस दिन कागलाई मीठा खानेकुरा दिएर पूजा गर्ने चलन छ। प्रकृतिको सरसफाइमा महत्त्वपूर्ण भूमिका खेल्ने कागलाई सम्मान गर्ने पर्वका रूपमा समेत काग तिहारलाई लिइन्छ।
कागको आवाज हुबहु निकाल्न सक्ने विशेष खुबी भएका दुलालले विगत २३ वर्षदेखि काग तिहारका अवसरमा काग सम्मेलन गर्दै आएका छन्। उनले कागसहित १७३ प्रकारका जनावर तथा चराचुरुङ्गीको आवाज निकाल्न सक्ने कला प्रस्तुत गर्दै आएका छन्। मुखकै सहायताले विभिन्न बाजाको धुनसमेत निकाल्न सक्ने दुलालको यो कला दर्शकका लागि आकर्षणको विषय बन्ने गरेको छ।
गत वर्ष २२औँ काग सम्मेलन गरेका दुलालले यस वर्ष २३औँ सम्मेलन आयोजना गरेका हुन्। उनले विगतमा रत्नपार्क, नारायणहिटी दरबार संग्रहालयलगायत विभिन्न स्थानमा काग सम्मेलन गर्दै आएका छन्।
दुलालका अनुसार कागलाई बोलाउँदा उसको स्वभाव र भाषा बुझेर आवाज निकाल्नुपर्छ। कागसँग उसको भाषामै संवाद गरेपछि उनीहरू आकर्षित भएर आउने उनको अनुभव छ।
आयोजकका अनुसार काग सम्मेलनले मनोरञ्जन प्रदान गर्नुका साथै चराचुरुङ्गीको संरक्षण, जैविक विविधताको महत्त्व र वातावरणीय सन्तुलन कायम राख्नुपर्ने सन्देश दिएको छ।
काग तिहारको परम्परालाई कलाकारितासँग जोडेर निरन्तरता दिँदै आएका दुलालको यो अभियानले नेपाली मौलिक संस्कृति र प्रकृतिप्रतिको सम्मानलाई नयाँ पुस्तामाझ चिनाउने प्रयास गरेको छ। कार्यक्रमको जनसवाल पब्लिकेशन मिडिया पार्टनरको रुपमा रहेको थियो । दुलालले विगत दुईदशकयता काग तिहारको अवसरमा कार्यक्रम गर्दै आएका छन् ।