भियनामा ‘आतंकवादी’ आक्रमण : ३ जना सर्वसाधारणको मृत्यु
News Desk
Nov-03 , 2020 तारिख 12:14 बेलुका

प्रहरी कारबाहीमा एक जना आक्रमणकारी पनि मारिए

भियना —  कार्तिक १८, २०७७।

सोमबार राति अस्ट्रियाको राजधानी भियनामा भएको ‘आतंकवादी’ आक्रमणमा ४ जनाको मृत्यु भएको छ । मारिनेमा तीन जना सर्वसाधारण र एक जना आक्रमणकारी रहेको अधिकारीहरुले जनाएका छन् ।

मृतक तीन जना सर्वसाधारणमध्ये दुई जना पुरुष र एक जना महिला रहेकी छन् । आक्रमणकारी भने पुरुष रहेको अस्ट्रियाका आन्तरिक मामिलामन्त्री कार्ल नेहमाले जानकारी दिएका छन् ।

परिचय नखुलाइए पनि आन्तरिक मामिला मन्त्री नेहमाले आक्रमणकारी इस्लामिक स्टेट(आईएस) समर्थक भएको दाबी भएको जनाएका छन् । अस्ट्रिया वाक स्वतन्त्रतासहितको प्रजातन्त्रिक मुलुक भएको र एक अर्को धार्मिक समुदायप्रति सहनशील भएको अस्ट्रियालाई आक्रमणकारीले विभाजन गर्न खोजेको मन्त्री नेहमाले बताए ।

भियनाको मुख्य सहरी क्षेत्रमा रहेको यहुदी समुदायको प्रार्थनास्थलबाहिर आक्रमणकारीले गोली चलाएका हुन् । प्रार्थनास्थललाई नै निसाना बनाएर आक्रमण गरिएको हो होइन भन्नेबारे स्पष्ट केही नखुले पनि अस्ट्रियाका चान्सलर सेबास्टियन क्रुजले यसलाई ‘घृणित आतंकवादी आक्रमण’ बताएका छन् ।

भियना प्रहरी विभागका अनुसार आक्रमणकारीले राइफल र अन्य ह्यान्डगन बोकेका थिए । आक्रमणकारीले कम्मरमा बाँधेको विस्फोटक पदार्थसहितको बेल्ट भने नक्कली भएको प्रहरीले बताएको छ । अधिकारीहरुका अनुसार आक्रमणमा अन्य व्यक्तिको पनि संलग्नता रहेको आशंका गरिएको छ ।

आक्रमणमा परी १५ जना गम्भीर घाइते भएका छन् । तीमध्ये एक जना प्रहरीका अधिकृत रहेको पनि भियना प्रहरीले जनाएको छ । आजको कान्तिपुर दैनिकमा खबर छ।  

धेरै पढिएको