News Desk
अदिस अबाबा — कार्तिक २०, २०७७।
अफ्रिकी मुलुक इथियोपियाका प्रधानमन्त्री अबिय अहमदले एउटा प्रादेशिक क्षेत्रमा शान्ति भंग भएको भन्दै कारबाही गर्न बुधबार संघीय सेनालाई आदेश दिएका छन् ।
टिग्रे पिपुल्स लिबरेसन फ्रन्ट (टीपीएलएफ) ले मंगलबार राति प्रादेशिक राजधानीको एक सैनिक अखडामा आक्रमण गरेपछि उक्त आदेश जारी गरिएको प्रधानमन्त्रीको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सेना परिचालनसँगै इथियोपियामा फेरि युद्ध सुरु हुने खतरा बढेको छ । टेलिभिजनबाट राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री अबियले उत्तरी टिग्रे प्रदेशको राजधानी मिकेले र दान्सा सहरमा विद्रोही समूहले गरेका आक्रमणमा धेरै सैनिकले साहदत प्राप्त गरेको जनाए ।
अबियले छिमेकी मुलुक इरिट्रिआसँग जोडिएको इथियोपियाको संवेदनशील क्षेत्रमा सक्रिय विद्रोहीको अन्त्य अवश्यम्भावी रहेको दाबी गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । इरिट्रिआसँग लामो सीमा संघर्षपश्चात् सन् २०१८ मा दुवै देशबीच शान्ति सम्झौता भएको थियो ।
टीपीएलएफले भने हालसम्म कुनै प्रतिक्रिया जनाएको छैन । प्रधानमन्त्रीको घोषणासँगै टिग्रे क्षेत्रका सबै इन्टरनेट र टेलिफोन लाइनसमेत काटिएका छन् । टिग्रे टीभीका अनुसार टिग्रे क्षेत्रमाथिको आकाश हवाई उडानका लागि निषेध गरिएको छ ।
यसैबीच, इथियोपियाली बाँध परियोजनाका विषयमा इजिप्ट र इथियोपियाबीच विवाद बढ्दै गएको छ । पछिल्लो समय इथियोपिया कोभिड–१९ को महामारी, जातीय हिंसा र सलहको प्रकोपजस्ता समस्यासँग एकैसाथ जुध्न बाध्य भएको छ ।
विश्लेषकहरूले अबियको शासनको खास परीक्षण अब हुने बताएका छन् । टिग्रेका अधिकारीहरूले गत अगस्टका लागि तोकिएको इथियोपियाको आमनिर्वाचन स्थगित गरेकामा आपत्ति जनाएका छन् । भाइरसको महामारी अझ फैलिने खतरा औंल्याउँदै प्रधानमन्त्री अबियले निर्वाचन स्थगित गरेका थिए ।
गत आइतबार विद्रोही समूह टीपीएलएफका एक वरिष्ठ अधिकारी गाटाचिउ रेडाले आफूहरू संघीय सरकारसँग तत्काल वार्ता गर्न इच्छुक नरहेको बताएका थिए । हालको अवस्थामा राष्ट्रिय संवाद जरुरी भएको उनको भनाइ छ ।
(कान्तिपुर दैनिक)