अमेरिकामा पहिलोपल्ट एकैदिन एक लाखभन्दा बढीमा कोरोना संक्रमण
News Desk
Nov-05 , 2020 तारिख 01:31 बेलुका

काठमाडौँ — कार्तिक २०, २०७७। 

अमेरिकामा एकैदिन एक लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । जोन्स होप्किन्स विश्वविद्यालयको कोरोनाभाइरस रिसोर्स सेन्टरका अनुसार बुधबार अमेरिकामा एक लाख २ हजार ८ सय ३१ जनामा कोरोना देखिएको पुष्टि गरेको छ ।

अमेरिकामा कोरोनाको पहिलो केस देखिएयता पहिलो पल्ट एकैदिन ६ अंकमा संक्रमित भेटिएका हुन् । त्यस्तै बुधबार थि एक हजार ९७ जनाको कोरोनले मृत्यु भएको छ । यो हप्ता मात्रै अमेरिकामा ६ लाखभन्दा बढीमा संक्रमण देखिएको छ ।

विज्ञहरुले जाडो सुरु भएसँगै कोरोना संक्रमण बढ्न सक्ने चेतावनी दिइरहेका बेला अमेरिकामा दिनदिन संक्रमणले रेकर्ड कायम गरिरहेको छ। पछिल्लो समय अमेरिकाका कन्सास, टेनिसी, भर्जिनिया, ओक्लाहोमा, मोन्टाना, आयोवा ओहायोलगायतका राज्यहरुमा कोरोना संक्रमण बढिरहेको वासिङ्टन पोस्टले उल्लेख गरेको छ ।

बिहीबार दिउँसोसम्म अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९४ लाख ८६ हजार ६ सय ७७ पुगेको छ । त्यस्तै अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ३३ हजार ७ सय २९ रहेको छ । त्यस्तै कोरोना पुष्टि भएकामध्ये ३७ लाखभन्दा बढी संक्रमणमुक्त भएका छन् ।

अमेरिकापछि दोस्रो स्थानमा रहेको भारतमा संक्रमितको संख्या ८३ लाख ६४ हजारभन्दा बढी पुगेको छ । भारतमा कोरोनाले एक लाख २४ हजार ३ सय १५ जनाको मृत्यु भएको छ भने ७७ लाखभन्दा बढी संक्रमणमुक्त भएका छन् ।

बिहीबार दिउँसोसम्म विश्वभर कोरोना संक्रमितको संख्या ४ करोड ८१ लाख नाघेको छ । कोरोनाले विश्वभर १२ लाख २५ हजारभन्दा बढीको मृत्यु भएको छ । त्यस्तै कोरोना पुष्टि भएकामध्ये ३ करोड १९ लाखभन्दा बढी संक्रमणमुक्त भएका छन् ।

(नयाँ पत्रिका)

धेरै पढिएको