विहार विधानसभा चुनाव : प्रारम्भिक मतपरिणामअनुसार बीजेपी सबैभन्दा अगाडि
News Desk
Nov-10 , 2020 तारिख 02:30 बेलुका

काठमाडौँ — कार्तिक २५, २०७७।

विहार विधानसभा चुनावको प्रारम्भिक मतपरिणामअनुसार भारतीय जनता पार्टी(बीजेपी) नेतृत्वको राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) अगाडि देखिएको छ । अहिलेसम्म आएको मतपरिणामअनुसार एनडीए १२५ भन्दा बढी सिटमा अगाडि रहेको छ ।

एनडीए गठबन्धनमा बीजेपी सबैभन्दा बढी सिटमा अगाडि रहेको छ । बीजेपी अहिलेसम्म ७४ सिटमा अगाडि रहेको छ भने मुख्यमन्त्री नितिश कुमार नेतृत्वको जनता दल युनाइटेड(जेडीयू) 50 सिटमा अगाडि रहेको छ । त्यस्तै एनडीए गठबन्धनमा रहेका भीआईपी पार्टी 5 र हम पार्टी एक सिटमा अगाडि रहेका छन् ।

त्यस्तै सुरुवाति रुझानअनुसार राष्ट्रिय जनता दल (राजद) नेतृत्वको महागठबन्धन १०० भन्दा बढी सिटमा अगाडि रहेको छ । जसमा राजद ६४, भारतीय राष्ट्रिय कांग्रेस १९, सीपीआई-एमएल १३, सीपीआईएम ३ र सीपीआई ३ सिटमा अगाडि रहेका छन् ।

२४३ सिट रहेको विहार विधानसभामा सरकार बनाउनका लागि १२२ सिट आवश्यक हुन्छ । भारतीय चुनाव आयोगका अनुसार अहिलेसम्म करिब २५ प्रतिशत मात्रै मतगणना भएको छ । अहिलेसम्म करिब एक करोड मत गनिएको निर्वाचन आयोगले जनाएको छ । विहार विधानसभा चुनावमा करिब ४ करोड १० लाख मत खसेको थियो ।

मतगणना जारी रहेका धेरै सिटमा पहिलो र दोस्रो नम्बरमा रहेका उम्मेदवारबीच हजारभन्दा कम मतको अन्तर रहेको छ । त्यसैले पनि अहिले नै चुनावी नतिजा कतातिर जान्छ भन्ने अनुमान लगाउन कठिन भएको छ । मंगलबार रातिसम्म अन्तिम निर्णय आउने बताइएको छ । चुनाव सकिएसँगै विभिन्न एक्जिट पोलमा तेजस्वी यादव नेतृत्वको महागठबन्धनले बहुमत ल्याउने बताएका थिए ।

विहार विधानसभा चुनावअन्तर्गत शनिबार अन्तिम तथा तेस्रो चरणको मतदान सम्पन्न भएको थियो । यसअघि अक्टोबर २८ पहिलो र नोभेम्बर १ मा दोस्रो चरणको मतदान भएको थियो।

(कान्तिपुर दैनिक)

धेरै पढिएको