अमेरिकी राष्ट्रपति ट्रम्पले दिए ह्वाइट हाउस छाड्ने संकेत
News Desk
Nov-27 , 2020 तारिख 03:03 बेलुका

काठमाडौँ —  मंसिर १२, २०७७। 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इलेक्टोरल कलेज (निर्वाचक प्रतिनिधि) हरुले आफ्ना प्रतिस्पर्धी जो बाइडेनले जितेको औपचारिक घोषणा गरेमा ह्वाइट हाउस छाड्ने बताएका छन् । 

निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै आएका ट्रम्पले औपचारिक रुपमा अझै आफ्नो पराजय भने स्वीकार गरेका छैनन् । यद्यपी यसअघि उनले सत्ता हस्तान्तरणको प्रक्रिया सुरु गर्नेमा आफ्नो सहमति जनाएका थिए । 

ट्रम्पले चुनावको नतिजालाई अस्वीकार गर्ने अभूतपूर्व प्रयास गरेका थिए । चोरी मतपत्रको बारेमा भ्रम फैलाउँदै र अदालतमा शृंखलाबद्ध मुद्दा दायर गरेका थिए । 

तर, अदालतले भने ट्रम्पले लगाएका आरोपहरुमा पर्याप्त प्रमाण नपुगेको जनाउँदै निवेदनहरु खारेज गरिदिएका थिए । 

हाल राष्ट्रपति ट्रम्पले दिएको पछिल्लो अभिव्यक्तिले उनी पराजय स्वीकारको नजिक पुगेको आँकलन गरिएको छ । बाइडेनले जितेको कुरा इलेक्टोरल कलेजले औपचारिक पुष्टि गरेमा आफू ह्वाइट हाउसबाट बाहिरिने ट्रम्पले बताए । 

इलेक्टोरल कलेजको बैठक आउँदो डिसेम्बर महिनाको १४ तारिखमा हुँदैछ ।

अमेरिकी राष्ट्रपतिमा विजयी हुने उम्मेदवारको औपचारिक छिनोफानो इलेक्टोरल मतले गर्दछ । हाल डेमोक्रेटिक पार्टीका प्रत्यासी जो बाइडेनले ३०६ र डोनाल्ड ट्रम्पले २३२ मत प्राप्त गरेका छन् । 

संविधान अनुसार कूल ५३८ इलेक्टोरल मत रहेको अमेरिकामा २७० मत ल्याउने व्यक्ति राष्ट्रपतिमा निर्वाचित हुन्छन् ।

नयाँ राष्ट्रपतिले आगामी सन् २०२१ को जनवरी २० मा सपथ ग्रहण गर्ने छन् । त्यसयता जो बाइडेन राष्ट्रपति–निर्वाचितका रुपमा रहने छन् । 
(नयाँ पत्रिका)

धेरै पढिएको