अमेरिकाद्वारा इराक-सिरिया सीमामा रहेका विद्रोही समूहलक्षित हवाई आक्रमण
News Desk
Jun-28 , 2021 तारिख 06:39 बिहान

काठमाडौं— असार १४, २०७८।

अमेरिकी सेनाले इराक र सिरियाको सीमामा रहेका विद्रोही समूहलाई लक्षित गर्दै हवाई आक्रमण गरेको छ । अमेरिकी समाचार संस्था एपीका अनुसार राष्ट्रपति जो बाइडेनको निर्देशनमा अमेरिकी सेनाले आक्रमण गरेको हो । 

इरानद्वारा सहयोग र समर्थनप्राप्त विद्रोही समूहलाई लक्षित गर्दै आक्रमण गरिएको अमेरिकी रक्षामन्त्रालयले जनाएको छ ।

अमेरिकी रक्षामन्त्रालय पेन्टागनका प्रेस सेक्रेटरी जो किर्बीले विद्रोही समूहले इराकमा रहेको अमेरिकी सेनामाथि आक्रमण गरेपछि प्रतिरक्षाका लागि जवाफी कारबाही गरिएको दाबी गरेका छन् । उनका अनुसार अमेरिकी सेनाले विद्रोही समूहको कार्यसञ्चालन र हतियार स्टोर गरिएका तीन वटा ठाउँमा आक्रमण गरेको छ । सिरियाका २ र इराकको एउटा विद्रोही अड्डामा आक्रमण गरिएको अमेरिकी रक्षामन्त्रालयले जनाएको छ ।

बाइडेन प्रशासनले उक्त क्षेत्रमा सैन्य गतिविधि बढाएपछिको यो दोस्रो आक्रमण हो । यसअघि अमेरिकी सेनाले फेब्रुअरी महिनामा सिरिया–इराक सीमामा रहेको विद्रोही अखडामा आक्रमण गरेको थियो ।

अमेरिकी रक्षामन्त्रालयले आत्मरक्षा र आफ्नो कानुनअन्तर्गत रहेर कारबाही गरिएको बताएको छ । इराकी बोर्डर गार्ड्सका अनुसार यस आक्रमणमा परी कम्तीमा ४ जनाको मृत्यु भएको बताएको छ ।

सिरियाको सरकारी समाचार संस्था सनाका अनुसार आक्रमणमा परी एक बालकको मृत्यु भएको छ भने कम्तीमा ३ जना घाइते भएका छन् । पेन्टागनका प्रेस सेक्रेटरी किर्बीका अनुसार इरानसमर्थित काताब हिजबुल्लाह र काताब सैय्यद अल सुहादा समूहमाथि आक्रमण गरिएको हो ।

इराकमा इस्लामिक स्टेट(आईएस) विरुद्धको लडाइँमा अन्तर्राष्ट्रिय गठबन्धनअन्तर्गत करिब २ हजार ५ सय अमेरिकी सैनिक तैनाथ रहेका छन् । पछिल्लो समय इराकमा रहेका अमेरिकी प्रतिष्ठान र अमेरिकी नागरिकलक्षित आक्रमण बढ्दै गएको पनि अमेरिकाले बताएको छ ।

(कान्तिपुर दैनिक)

धेरै पढिएको