News Desk
वासिंटन — २६ श्रावण २०७८
वासिंटन , विभिन्न मुलुकका कूटनीतिज्ञलाई बिरामी बनाएको भन्ने ‘हवाना सिन्ड्रोम’ को कारण के हो भन्ने बारे अमेरिका अझै अनिश्चित रहेको गुप्तचर प्रमुख अव्रिल हाइन्सले बताएकी छन् । यस विषयमा छलफल गर्न शुक्रबार क्याबिनेटका उच्च पदाधिकारी र अन्य विज्ञहरुसँग भेटवार्ता गरेको राष्ट्रिय गुप्तचरका निर्देशक हाइन्सले सोमबार बताइन्। ‘हवाना सिन्ड्रोम’ का कारण रूस वा क्युबा, चीन र अन्य मुलुकमा अमेरिकी कूटनीतिज्ञलाई शारीरिक रुपमा हानी पुर्याउन सोनिक वा अन्य उच्च तीव्रताका विद्युतीय उपकरण प्रयोग गरेको हुनसक्ने आरोप लगाइएको छ ।
‘हवानामा भएको पहिलो घटनाको पाँच वर्षपछि पनि चिकित्सा विशेषज्ञहरू, गुप्तचर समूह र अमेरिकी अधिकारीहरू अमेरिकी कूटनीतिज्ञहरू र उनीहरूका परिवारलाई प्रभावित गर्ने ‘विसंगत स्वास्थ्य घटनाहरू’ (एएचआई)को कारणबारे अनिश्चित रहेका छन्,’ हाइन्सले सञ्चारमाध्यमहरूसँगको कुराकानीमा भनेकी छन् । ‘एएचआईको कारण पत्ता लगाउन, प्रभावितहरूलाई उच्च स्तरको हेरचाह प्रदान गर्न र त्यस्ता घटनाहरूलाई निरन्तरता दिनबाट रोक्नु सर्वोच्च प्राथमिकता भएको’ बैठकमा सर्वसम्मत निर्णय भएको उनले बताइन् ।रक्षा मन्त्रालय, विदेश मन्त्रालय, अर्थ मन्त्रालय, ऊर्जा मन्त्रालय, गृहमन्त्रालय र महान्यायाधिवक्ताको कार्यालयका अधिकारी सम्मिलित संयुक्त प्राज्ञिक सामुदायिक परिषद्को शुक्रबारको बैठकमा पनि यसबारे छलफल भएको थियो । एएचआईबाट प्रभावित कूटनीतिज्ञहरूले हालैका वर्षहरूमा सरकारले आफ्ना लक्षणहरूको कारण वा स्रोत पत्ता लगाउन कडा परिश्रम नगरेको आरोप लगाएका छन् ।
सन् २०१६ मा क्युबामा अमेरिकी कूटनीतिज्ञ तथा उनीहरूका परिवारले रातिमा अस्वभाविक आवाज सुन्ने गरेको र यसका कारण नाकबाट रगत बग्ने, माइग्रेन र वाकवाक लाग्नेजस्ता समस्या आउको गुनासो गरेका थिए । त्यसबेलादेखि चीन, रूस र संयुक्त राज्य अमेरिकाभित्रका अमेरिकी अधिकारीहरूले पनि यस्तै गुनासो गरेका बताइउको छ ।जुलाई महिनामा राष्ट्रपति जो बाइडेनले यस वर्ष कार्यभार ग्रहण गरेदेखि लगभग दुई दर्जन अमेरिकी गुप्तचर अधिकारी, कूटनीतिज्ञ तथा अस्ट्रियाका अन्य सरकारी अधिकारीहरूले ‘हवाना सिन्ड्रोम’ जस्तै समस्याहरूको रिपोर्ट गरेका छन् भनी ‘न्यू योर्कर’ले जुलाईको एक अंकमा उल्लेख गरेको छ ।
कथित आक्रमणहरूको अध्ययन गर्न चिकित्सा तथा वैज्ञानिक विशेषज्ञहरूको परिचालन गरेको र प्रभावित व्यक्तिहरूको पीडा बुझ्ने प्रयास गर्न विस्तृत रूपमा परीक्षण गरिएको अमेरिकाले बताएको छ ।हाइन्सको बयानमा सङ्केत गरेअनुसार कुनै निष्कर्ष नपुगे तापनि तिनीहरूले समस्याको रिपोर्टलाई गम्भीरतापूर्वक लिइरहनेछन् । सहभागीहरूले ‘एएचआईबाट प्रभावित व्यक्तिहरूलाई विश्वास, सुन्ने र सम्मान गर्ने सुनिश्चित गर्न समर्थन गर्ने’ उनको भनाइ छ ।
(कान्तिपुर दैनिक)