भाइरल उद्यानमा पर्यटकको भीड
News Desk
Aug-19 , 2021 तारिख 10:54 बिहान

कपिलवस्तु — टिकटकमा भाइरल भएपछि कपिलवस्तुको वाणगंगा नगरपालिका–५ स्थित मधवलिया वन उद्यानमा आन्तरिक पर्यटकको भीड बढेको छ । त्यहाँ पुग्ने युवकयुवती बगैंचामा फुलेका मनमोहक फूल र हरियाली वातावरणमा रमाउँछन् ।हातहातमा हुने मोबाइलमा टिकटक बनाउँछन् । पोस्ट गर्छन् । यसरी पोस्ट भएको टिकटक हेरेरै यहाँ आउने पर्यटक बढेको वाणगंगा नगरपालिका–५ का वडाध्यक्ष भीष्मराज भुसालले बताए । ‘यहाँ आउनासाथ रमाउने वातावरण पाउँछन्,’ उनले भने, ‘दैनिक ३०/४० वटा टिकटक पोस्ट गर्छन् ।’ यसले यहाँको व्यापक प्रचार भई हेर्न उत्सुक हुने आइरहेको उनले सुनाए ।

उजाड र रुख नभएका ठाउँमा मधवलिया सामुदायिक वन उपभोक्ता समूहले पर्यापर्यटनको आकर्षण केन्द्र बनाउन दुई वर्षदेखि निर्माणको काम गर्दै आएको छ । ८० प्रतिशत काम पूरा भएको छ । तर, यहाँ दैनिक ७ सयदेखि १ हजारसम्म आन्तरिक पर्यटकको लर्को लाग्ने गरेको वन उपभोक्ता समूहका अध्यक्ष खडानन्द गौतमले बताए । पछिल्लो तीन महिनायता घुम्न आउने बढेका हुन् । टिकटक हेरेरै आफूहरू यहाँ आएको हो ओदारीकी पुनम गुप्ताले बताइन् । ‘सोचेभन्दा राम्रो रैछ । टिकटक बनाएर पोस्ट पनि गर्‍यौं,’ उनले भनिन्, ‘अब मेरा साथी फलोअर पनि यहाँ आउन लालायित हुन्छन् ।’ मान्छे हिंड्न मिल्ने सानादेखि ठूला फलामे गोलाकार रिङ जमिनमा गाडिएको छ । इन्द्रणी कलरका १२ फलामे रिङ छन् । आकर्षक देखिने हुँदा युवकयुवती त्यसैमा बढी झुम्मिएर सेल्फी खिच्ने र टिकटक बनाउने गर्छन् ।

माटोको पहाड बनाएर बाघ, डाँफे, मयुर, मृग र खरायोलगायतका ढलोटको आकृति राखिएको छ । अग्लो ठाउँमा हुँदा तलबाट आकर्षक देखिन्छ । त्यहाँ शिव भगवान्को मुर्तिमा माथिबाट पानी खसिरहने वाटर फाउन्टेन रहेको छ । त्यस्तै मण्डला बनाइएको छ । मण्डलामा पनि नौ फिट माथिबाट पानी खसिरहने वाटर फाउन्टेन राखिएको छ । मोटरका माध्यमबाट निरन्तर पानी खसिरहने हुँदा त्यहाँ पनि रोमाञ्चित बन्ने गरेका छन् । त्यहाँ रुद्राक्ष, रक्तचन्दन र कपूरलगायतका डेढ सय बढी प्रजातिका विरुवा रोपिएका छन् । त्यस्तै मखमली, गुलाब, सयपत्री, पिटुनिया, गुर्दौली र चमेली फूलले उद्यानलाई चम्काएको छ । पूर्व–पश्चिम राजमार्गस्थित बुङ्चीदेखि एक किमि दक्षिण रहेको उद्यान ५ हेक्टर क्षेत्रफालमा फैलिएको छ ।

उद्यानभित्र रुखविरुवाको हरियालीसहित बनाइएका दुई पार्क छन् । त्यहाँ हरिण र चित्तलको रंगीन ढलोट बनाएर आकर्षक बनाइएको छ । झुला पनि राखिएको छ । प्राकृतिक सौन्दर्यले मुग्ध बनेको छ । कोलाहाल, ध्वनि प्रदूषण छैन । रमणीय दृश्य र मोहकताले सिंगारिएको छ । बोर्डगाउँबाट आएकी युवती रमा पौडेलले हरियाली र फूलले उल्लास थप्नुका साथै निकै रमाइलो भएको बताइन् । यहाँको मनोरम सौन्दर्य र सौम्यताबीच पुग्दा खुसीको सीमा रहेन उनले भनिन् ।गाउँघरबाट उद्धार गरिएका स–साना वन्यजन्तु संरक्षण गर्न खोर बनाइएको छ । त्यसका लागि स्याल, दुम्सी, खरायो र अजिंगर संकलन गरेर राजपानी सामुदायिक वनमा राखिएको छ । अब यहाँ छिट्टै ल्याएर संरक्षण गरिने बताइएको छ । डिभिजन वन कार्यालयको १५ लाख, प्रधानमन्त्री रोजगार कार्यक्रमको ७ लाख, सामुदायिक वनको ७० लाख र वडाको ४ लाख रुपैयाँ लागतमा उद्यान बन्न लागेको हो । 

(कान्तिपुर दैनिक)

धेरै पढिएको