स्टेयनको संन्यास
News Desk
Sep-01 , 2021 तारिख 05:54 बिहान

जोहानेसबर्ग — १६ भाद्र २०७८ 

जोहानेसबर्ग , दक्षिण अफ्रिकाबाट सर्वाधिक टेस्ट विकेट लिने डेल स्टेयनले मंगलबार संन्यास घोषणा गरेका छन् । ३८ वर्षे तीब्र बलर उनले सामाजिक सञ्जालमार्फत आफ्नो खेलाडी जीवन टुंग्याएको घोषणा गरेका हुन् । ‘२० वर्षदेखि मेरो जीवन एउटै रफ्तारमा चलिरहेको थियो । प्रशिक्षण, खेल, जित, हार, खुट्टा खुम्च्याउनु, जेटल्याग, खुसी र भाइचारामा दैनिकी चलिरहेको थियो,’ स्टेयनले सामाजिक सन्जालमा लेखेका छन्, ‘मेरो परिवारका सदस्यदेखि पत्रकार र प्रशंसक सबैलाई यो अविश्वसनीय यात्राका लागि धन्यवाद दिन चाहन्छु ।’९३ टेस्टमा ४ सय ३९ विकेट लिएका उनले २०१९ मै पाँचदिने क्रिकेटबाट संन्यास लिएका थिए । उनले त्यो बेलामा आफू सेतो बलमा लगातार खेलिरहने जनाएका थिए र २०१९ मा क्रिकेट विश्वकप लागि इंग्ल्यान्ड जाने टोलीमा रहेका थिए । तर काँधमा लागेको चोटका कारण उनले कुनै खेल नखेली फर्किए । एकदिवसीय अन्तर्राष्ट्रियमा उनले १ सय ९६ विकेट लिएका छन् । उनले २०१९ को मार्चयता यो संरचनामा खेलेका छैनन् ।

उनले २०२० को फेब्रुअरीमा अस्ट्रेलियाविरुद्ध पछिल्लो पटक ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलेका थिए । त्यही वर्ष अस्ट्रेलियामा हुनेट्वान्टी–२० विश्वकपमा खेल्ने उनको अनुमान रहेको थियो । तर कोभिड–१९ का कारण विश्वकप नै स्थगित भएको थियो । उनले यो संरचनामा ६४ विकेट लिएका छन् । उनले पछिल्लोपल्ट खेलेको मार्चमा हो, जब उनले क्वेट ग्लाडियटर्सबाट कराँचीमा पाकिस्तान सुपर लिग खेलेका थिए ।आफ्नो उत्कृष्ट समयमा उनी नयाँ बलमा लेट अवे स्विङका महारथी थिए । त्यस्तै पुरानो बलमा रिभर्स स्विङ र उच्च गतिमा बलिङ गर्नु उनको विशेषता थियो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को वरीयतामा उनी ६ वर्ष टेस्ट क्रिकेटमा नम्बर एक बलरका रूपमा रहे ।उनको विशेष प्रदर्शन २००८ मा अस्ट्रेलियाविरुद्ध मेलबर्न टेस्टमा भएको थियो । उनले त्यसमा ७६ रन बनाए, जुन उनको टेस्टमा उच्च स्कोर पनि हो । त्यसबाहेक उनले उक्त टेस्टमा १ सय ५४ रन खर्चेर १० विकेट लिँदै दक्षिण अफ्रिकालाई अस्ट्रेलियाली भूमिमा पहिलो टेस्ट शृंखला जिताउन महत्त्वपूर्ण भूमिका खेलेका थिए ।

दक्षिण अफ्रिकालाई ४२ मध्ये २८ एकदिवसीय अन्तर्राष्ट्रिय र २० मध्ये ७ ट्वान्टी–२० शृंखला जिताउन उनको भूमिका विशेष रह्यो । उनले २०११ र २०१५ को विश्वकप पनि खेले । दक्षिण अफ्रिका २०१५ को विश्वकप सेमिफाइनलको अन्तिम ओभरमा आयोजक न्युजिल्यान्डसँग पराजित हुँदा उनकै बलिङमा रन प्रहार गरिएको थियो । स्टेयनले सन् २००९ देखि २०१६ सम्म गरी पाँच ट्वान्टी–२० विश्वकप खेले । उनी एकदिवसीय अन्तर्राष्ट्रियको वरीयतामा दोस्रो र ट्वान्टी–२० अन्तर्राष्ट्रियमा पाँचौं स्थानभन्दा माथि उठ्न सकेनन् ।दक्षिण अफ्रिकाका पूर्वकप्तान एबी डी भिलियर्स, इंग्ल्यान्डका तीव्र गतिका बलर जेम्स एन्डरसन, अस्ट्रेलियाका प्याट कमिन्सलगायतले उनलाई महान् खेलाडी भन्दै सामाजिक सन्जालमा स्टेयनको चर्चा गरेका छन् ।  

( कान्तिपुर दैनिक )  

धेरै पढिएको