मृगतृष्णा फेसन हाउसको आयोजनामा ‘लाइभ म्युजिक फेसन शो’ सम्पन्न
News Desk
Nov-14 , 2021 तारिख 04:00 बेलुका

काठमाडौँ — कार्तिक २८, २०७८। 

कोरोना महामारीले थला नपारेको क्षेत्र कुन होला र ! केही क्षेत्र यसरी थला परेकी जो भर्खरै छिटपुट चल्न सुरु भएका छन् । त्यसैमध्येको एक हो– नेपाली फेसन बजार । सामान्य अवस्थामा महिनामै दर्जन बढी फेसन डिजाइनरले आफ्नो कला बजारमा ल्याउँथे । यद्यपि, २ वर्षदेखि यो क्षेत्र सुनसान प्राय रह्यो ।

पछिल्लो समय भने फेसन बजार केही खुल्न थालेको छ । कोरोनाले रोकेको नेपाली फेसन बजारलाई चलायमान बनाउने उद्धेश्यले गत शुक्रबार राति होटल र्याडिसनमा फेसन सो भयो । अझ भनौं सांगीतिक फेसन सो । कार्यक्रममा गायक धिरज राई र गायिका मनिषा पोखरेलले सांगीतिक प्रस्तुति दिएका थिए ।

फेसन दुनियाँमा नाम कहलिएकी डिजाइनर तृष्णा गुरुङले सञ्चालन गर्दै आएको मृगतृष्णा फेसन हाउसको आयोजनामा सम्पन्न भएको उक्त सोमा विभिन्न पहिरनको प्रस्तुत गरिएको थियो भने कार्यक्रमको शोस्टपरमा भने हिमाल गुरुङ रहेका थिए। 

जसमा महिलाको सारी, लेहेंगा, वनपिस र पुरुषका लागि फर्मल र क्याजुअल पहिरनको शो भएको थियो । विगत २ वर्षयता सुस्ताएको फेसन बजारलाई उठाउन यो शोले धेरै मद्धत गर्ने डिजाइनर गुरुङ बताउँछिन् । उनले ‘सोलो सिल्हौटे’ नाम दिएको उक्त शोमा एरा मिडिया ग्रुप नेपालले सहकार्य गरेको थियो ।

गुरुङ विगत १२ वर्षदेखि यस क्षेत्रमा सक्रिय छिन् । त्यसो त लाइभ साँगीतिक माहोलमा र्याम्प वाक फेसन शो नेपालमै पहिलोपटक भएको उनको दाबी छ । ‘कोरोनापछिको पहिलो फेसन शो नै होला’ उनले अगाडी थप्छिन्, ‘लाइभ म्युजिक फेसन शो त नेपाल मै पहिलो हो ।’

फेसन शो मा उठेको रकमबाट १० देखि २० प्रतिशत दिन दुखीलाई सहयोग गर्दै आएको संघसस्थाका लागि छ्ट्याउने गरेकी छन् । यो फेसन शो पनि मानसिक रोगी सुधारको कार्य गर्ने संस्था स्नेही काखलाई सहयोगको लागि गरिएको तृष्णाले जनाईन ।

Related Post