रास्वपाले प्रतिशोधको राजनीति गर्दैनः सभापति लामिछाने
News Desk
Jun-22 तारिख 05:35 बिहान • आज

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टीले प्रतिशोधको राजनीति नभई सहकार्य, सद्भाव र राष्ट्रिय हितको मार्ग अवलम्बन गर्ने स्पष्ट गर्नुभएको छ।

चितवनको भरतपुरमा आयोजित रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले जनताले दिएको विश्वास र जनमतलाई सम्मान गर्दै पार्टीले कसैप्रति पनि प्रतिशोधको भावना नराख्ने बताउनुभयो।

सभापति लामिछानेले राजनीतिक दलहरूबीच विगतमा देखिएका तिक्तता र वैमनस्यता अन्त्य गर्दै देशको विकास र जनहितका लागि साझा प्रयास आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले रास्वपा राष्ट्रिय एकता, सहकार्य र सकारात्मक राजनीतिक संस्कृतिको वाहकका रूपमा स्थापित हुँदै गएको दाबी गर्नुभयो।

पार्टीभित्र गुट तथा उपगुटको अभ्यासलाई कुनै पनि हालतमा प्रश्रय नदिइने बताउँदै उहाँले महाधिवेशनबाट संगठनात्मक एकता र अनुशासनको सन्देश प्रवाह हुने विश्वास व्यक्त गर्नुभयो। पुराना दलहरूको अनुभवबाट पाठ सिक्दै आन्तरिक विभाजनबाट टाढा रहन सके पार्टीलाई कुनै बाह्य शक्तिले कमजोर बनाउन नसक्ने उहाँको भनाइ थियो।

“रास्वपाको चुनौती बाहिरबाट होइन, भित्रबाट आउन सक्छ। यदि हामी आफैं अल्झियौं भने मात्र कमजोर हुन्छौं,” उहाँले भन्नुभयो, “गुटबन्दीले संगठनलाई विषाक्त बनाउँछ। त्यसैले आज हामीले कस्तो राजनीतिक संस्कारको बीजारोपण गर्ने भन्ने महत्वपूर्ण मोडमा उभिएका छौं।”

उहाँले पछिल्लो समय समाजका विभिन्न क्षेत्रबाट राजनीतिप्रति आकर्षण बढ्दै गएको उल्लेख गर्दै गैरराजनीतिक पृष्ठभूमिका व्यक्तिहरू पनि परिवर्तनको अपेक्षासहित राजनीतिमा प्रवेश गरिरहेको बताउनुभयो।

सभापति लामिछानेले प्रमुख राजनीतिक दल नेपाली कांग्रेस र नेकपा (एमाले) भित्र देखिएका आन्तरिक समस्याप्रति समेत चिन्ता व्यक्त गर्नुभयो। ती दलहरूले आफ्ना चुनौतीहरू समयमै समाधान गर्न नसके त्यसको असर समग्र राष्ट्रिय राजनीतिमा पर्ने उहाँको धारणा थियो।

“राष्ट्रिय राजनीति स्वस्थ हुन सबै दल जिम्मेवार र सक्षम हुनुपर्छ। हाम्रो पार्टी मात्र राम्रो भएर पुग्दैन, लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउन अन्य दलहरू पनि सुदृढ हुन आवश्यक छ,” उहाँले भन्नुभयो।

सरकार सञ्चालनबारे बोल्दै लामिछानेले पूर्वसहमति अनुरूप नै गठबन्धन अघि बढिरहेको र प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले निर्धारित लक्ष्यअनुसार काम गरिरहेको दाबी गर्नुभयो। उहाँले आफू सरकारको सफलता सुनिश्चित गर्न सहयोगी भूमिकामा रहने बताउँदै फुटबल खेलको उदाहरणमार्फत प्रधानमन्त्रीलाई गोल गर्ने जिम्मेवारी रहेको र आफूले आवश्यक सहयोग गर्ने टिप्पणी गर्नुभयो।

धेरै पढिएको