News Desk
चितवन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई लोकतान्त्रिक आन्दोलनका संघर्ष, बलिदान र सहिदहरूको योगदानलाई सम्मान गर्दै अघि बढ्न आग्रह गर्नुभएको छ।
चितवनमा जारी रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै सभापति थापाले नयाँ राजनीतिक शक्तिहरूले विगतका उपलब्धि र संघर्षलाई अवमूल्यन गर्न नहुने बताउनुभयो। उहाँले आज लोकतान्त्रिक वातावरणमा नयाँ दलहरूलाई आफ्नो विचार राख्ने अवसर प्राप्त हुनु विगतका आन्दोलन र बलिदानकै परिणाम भएको उल्लेख गर्नुभयो।
“आज निलो झण्डा फहरिएको छ, तर त्यसको आधारमा लोकतन्त्रका लागि बगेको रगत र गरिएको त्याग पनि छ,” उहाँले भन्नुभयो, “विगतका संघर्ष र सहिदहरूको योगदानलाई बिर्सेर भविष्यको राजनीति सुदृढ हुन सक्दैन।”
रास्वपाले छोटो समयमै प्राप्त गरेको जनसमर्थनलाई सकारात्मक रूपमा उपयोग गर्नुपर्ने धारणा राख्दै थापाले पार्टीभित्र एकता, संयम र जिम्मेवारी कायम राख्न सुझाव दिनुभयो। विगतमा जनताले आशा गरेका नयाँ राजनीतिक शक्तिहरू आन्तरिक विवाद र नेतृत्वबीचको असमझदारीका कारण कमजोर बनेको स्मरण गराउँदै उहाँले रास्वपालाई त्यस्ता गल्ती दोहोर्याउन नहुने बताउनुभयो।
उहाँले रास्वपामा देखिएको उत्साह र जनविश्वासलाई संस्थागत गर्न सकिए नेपाली राजनीतिमा सकारात्मक परिवर्तन सम्भव हुने उल्लेख गर्नुभयो। साथै, पार्टीभित्र गुटबन्दी र उन्मादको राजनीति हावी भए त्यसको असर केवल पार्टीमा मात्र नभई समग्र लोकतान्त्रिक प्रणालीमा पर्ने चेतावनी दिनुभयो।
सभापति थापाले नेपाली कांग्रेस र रास्वपाबीच राजनीतिक प्रतिस्पर्धा स्वाभाविक भए पनि दुश्मनीको सम्बन्ध नरहेको स्पष्ट पार्नुभयो। कांग्रेसले आफ्नो क्षमता, कार्यसम्पादन र जनविश्वासका आधारमा अघि बढ्ने नीति लिएको बताउँदै उहाँले स्वस्थ प्रतिस्पर्धाले लोकतन्त्रलाई बलियो बनाउने धारणा व्यक्त गर्नुभयो।
सरकारको कामकारबाहीबारे टिप्पणी गर्दै उहाँले राम्रो कामको समर्थन र कमजोरीप्रति रचनात्मक खबरदारी गर्ने कांग्रेसको नीति रहेको बताउनुभयो। कानुनी प्रक्रियाअनुसार हुने निर्णयलाई स्वीकार गर्नुपर्ने तर प्रतिशोधको भावनाबाट प्रेरित राजनीति स्वीकार्य नहुने उहाँको भनाइ थियो।
थापाले सुशासनको आधार आत्मसमीक्षा र आत्मसुधार भएको उल्लेख गर्दै आफ्नै दलभित्र हुने कमजोरीविरुद्ध बोल्न सक्ने राजनीतिक संस्कार आवश्यक रहेको बताउनुभयो। “आफ्नो पार्टीभित्र गलत काम हुँदा पनि मौन बस्ने व्यक्ति वा समूहले समाजमा सुशासन स्थापित गर्न सक्दैन,” उहाँले भन्नुभयो।
कांग्रेसले विगतका कमजोरीबाट पाठ सिक्दै सुधारको प्रयास गरिरहेको उल्लेख गर्दै उहाँले सबै राजनीतिक दललाई इतिहासबाट सिकेर लोकतान्त्रिक मूल्य, विधि र प्रक्रियाप्रति प्रतिबद्ध रहन आग्रह गर्नुभयो।
सम्बोधनको अन्त्यमा उहाँले लोकतन्त्र, विधिको शासन र संस्थागत प्रक्रियामाथि कुनै पनि प्रकारको हस्तक्षेप वा अतिक्रमण भए कांग्रेसले निरन्तर प्रश्न उठाउने र खबरदारी गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।