श्रावणको भक्तिमय मौसममा सार्वजनिक भयो डा. ओमकृष्ण प्रसाईको शब्दमा ‘भोले भोले’ शिव भजन
News Desk
Jul-19 , 2025 तारिख 09:53 बिहान

काठमाडौं, श्रावण २०८२। श्रावण महिनाको आरम्भसँगै भगवान् शिवको महिमा गाउने धार्मिक माहोल सुरु भइसकेको छ। यही भक्तिपूर्ण अवसरमा वरिष्ठ गीतकार डा. ओमकृष्ण प्रसाईको शब्द, चर्चित संगीतकार विकास चौधरीको संगीत तथा विकास चौधरी र नारायण बाबु पण्डितको सुमधुर स्वरमा तयार गरिएको शिव भजन “भोले भोले...” सार्वजनिक गरिएको छ।

उक्त भजनको भिडियो गीतकार डा. प्रसाईको आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो। यस भजनको निर्देशन र छायांकन प्रेम लामाले गरेका छन् भने एरेन्ज संजय हमाल र मिक्सिङ/मास्टरिङ गोभिन्द सोनी को रहेको छ।

भजनको विशेषता यसमा निहित चारवटा संस्कृत शिव श्लोकहरू हुन्, जसले यसलाई अन्य परम्परागत भजनभन्दा पृथक र गहिरो आध्यात्मिक अनुभूति दिने बनाएको छ। शिव भक्ति रसले ओतप्रोत यो भजन श्रावण महिनाका व्रतालु, भक्तजन तथा संगीतप्रेमीहरूका लागि एक अनुपम कृति बनेको छ।

भजनको भिडियोमा गीतकार स्वयं डा. ओमकृष्ण प्रसाई ले अभिनय गरेका छन्। साथै उनीसँगै सबिना तामाङ र महेश मुखिया सुनुवार को पनि जीव्त अभिनय देख्न सकिन्छ, जसले दृश्यात्मक पक्षमा भजनको प्रभावलाई थप सशक्त बनाएको छ।

नेपालको सांस्कृतिक र धार्मिक चेतनामा आधारित यस प्रकारको सिर्जना अहिलेको डिजिटल युगमा पनि भक्ति भाव र परम्पराको सन्देशलाई युवा पुस्तासम्म पुर्‍याउन सफल प्रयास मान्न सकिन्छ।

 

धेरै पढिएको