अष्ट्रेलियामाथि सहज जित निकाल्दै अमेरिका अन्तिम १६ मा
News Desk
Jun-20 तारिख 06:38 बिहान • आज

काठमाडौं । फिफा विश्वकप फुटबल–२०२६ अन्तर्गत समूह ‘डी’को खेलमा अमेरिकाले अष्ट्रेलियालाई २–० गोलअन्तरले पराजित गर्दै नकआउट चरणमा स्थान सुरक्षित गरेको छ।

सिएटलस्थित स्टेडियममा सम्पन्न खेलमा अमेरिकाले सुरुदेखि नै दबाब बनाएको थियो। खेलको ११औँ मिनेटमा अष्ट्रेलियाका डिफेन्डर क्यामरुन बर्गेसको आत्मघाती गोलबाट अमेरिका अग्रता लिन सफल भयो। क्लियर गर्ने प्रयासमा बर्गेसले प्रहार गरेको बल आफ्नै पोस्टमा पुगेपछि अमेरिका १–० ले अघि बढेको थियो।

पहिलो हाफको अन्त्यतिर अमेरिकाले अर्को गोल थप्दै आफ्नो पकड बलियो बनायो। खेलको ४३औँ मिनेटमा एलेक्स फ्रीम्यानले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए।

दोस्रो हाफमा दुवै टोलीले गोलका अवसर सिर्जना गरे पनि थप गोल हुन सकेन। त्यससँगै अमेरिका २–० को जित निकाल्न सफल भयो।

यो अमेरिकाको प्रतियोगितामा लगातार दोस्रो जित हो। यसअघि उसले पहिलो खेलमा पाराग्वेलाई पराजित गरेको थियो। लगातार दुई जितसँगै समूह ‘डी’मा रहेको अमेरिकाले ६ अंक जोड्दै नकआउट चरणमा आफ्नो स्थान सुनिश्चित गरेको छ।

धेरै पढिएको