मेस्सीको कीर्तिमानी गोलसँगै अर्जेन्टिना अन्तिम १६ मा
News Desk
Jun-23 तारिख 07:22 बिहान • आज

काठमाडौं । कप्तान लियोनल मेस्सीको शानदार प्रदर्शनमा अर्जेन्टिनाले फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को खेलमा अस्ट्रियालाई २–० गोलअन्तरले पराजित गर्दै नकआउट चरणमा स्थान सुरक्षित गरेको छ।

डालास स्टेडियममा सम्पन्न खेलमा अर्जेन्टिनाले पहिलो हाफमै अग्रता बनाएको थियो। खेलको नवौं मिनेटमा पेनाल्टीको अवसर खेर फालेका मेस्सीले त्यसको क्षतिपूर्ति ३८औँ मिनेटमा गरे। उनले गरेको गोलसँगै अर्जेन्टिना १–० ले अघि बढ्यो।

उक्त गोल मेस्सीका लागि ऐतिहासिक बन्यो। विश्वकपमा उनको गोल संख्या १७ पुगेसँगै उनले जर्मनीका मिरोस्लाभ क्लोजको १६ गोलको कीर्तिमानलाई पछि पार्दै विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीको नयाँ रेकर्ड कायम गरे।

दोस्रो हाफमा अस्ट्रियाले बराबरीको प्रयास गरे पनि अर्जेन्टिनाको रक्षापंक्ति मजबुत रह्यो। ५५औँ मिनेटमा अस्ट्रियाले फ्रि-किकमार्फत गोल गर्ने अवसर सिर्जना गरेको थियो। मार्सेलको शक्तिशाली प्रहारलाई अर्जेन्टिनी गोलरक्षक एमिलियानो मार्टिनेजले उत्कृष्ट बचाउ गर्दै टोलीको अग्रता जोगाए।

खेलको इन्जुरी समयको पाँचौँ मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै अर्जेन्टिनाको जित सुनिश्चित गरे। पहिलो प्रहार डिफेन्डरले रोके पनि रिबाउन्डमा उनले दुई रक्षकबीचबाट बललाई जाली चुमाउँदै स्कोर २–० पुर्‍याए।

यो गोल मेस्सीको विश्वकप इतिहासमा १८औँ तथा जारी प्रतियोगितामा पाँचौँ गोल हो। उनको उत्कृष्ट प्रदर्शनसँगै अर्जेन्टिनाले लगातार प्रभावशाली नतिजा निकाल्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।

धेरै पढिएको