News Desk
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्सले मोरक्कोलाई २–० गोलले पराजित गर्दै फिफा विश्वकप २०२६ को सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।
अमेरिकाको बोस्टन स्टेडियममा सम्पन्न पहिलो क्वाटरफाइनल खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। खेलको सुरुआतमै पाएको पेनाल्टीलाई एमबाप्पेले गोलमा परिणत गर्न नसके पनि उनले दोस्रो हाफमा शानदार पुनरागमन गरे।
खेलको ६०औँ मिनेटमा एमबाप्पेले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए। त्यसको छ मिनेटपछि उनले नै मिलाएको उत्कृष्ट पासलाई उसमान डेम्बेलेले जाली चुमाउँदै फ्रान्सको अग्रता दोब्बर बनाए। त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा फ्रान्सले सहज जित दर्ता गर्यो।
मोरक्कोले खेलभर संघर्षपूर्ण प्रदर्शन गरे पनि फ्रान्सको अनुभवी र सन्तुलित टोलीविरुद्ध प्रभावकारी अवसर सिर्जना गर्न सकेन। फ्रान्सले भने बल नियन्त्रण, आक्रमण र रक्षात्मक प्रदर्शनमा आफ्नो प्रभुत्व कायम राख्दै अन्तिम चारमा स्थान बनायो।
योसँगै फ्रान्स लगातार तेस्रो पटक विश्वकपको सेमिफाइनलमा पुगेको छ। फ्रान्सले सन् २०१८ मा विश्वकपको उपाधि जितेको थियो भने २०२२ मा उपविजेतामा सीमित भएको थियो। यसपटक पनि फ्रान्स उपाधिको बलियो दाबेदारका रूपमा अघि बढिरहेको छ।
अब फ्रान्सले फाइनल प्रवेशका लागि सेमिफाइनलमा बेल्जियम र स्पेनबीचको विजेता टोलीसँग प्रतिस्पर्धा गर्नेछ।