छनोटमा असफल भए पनि नेपालले वुमन्स एसिया कप खेल्ने सम्भावना, एसीसीको औपचारिक घोषणा अझै बाँकी
News Desk
Aug-05 तारिख 06:40 बिहान

काठमाडौं – एसीसी वुमन्स प्रिमियर कपबाट छनोट हुन नसकेको नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले पनि यस वर्षको वुमन्स एसिया कप खेल्ने सम्भावना देखिएको छ। क्रिकेटसम्बन्धी वेबसाइट क्रिकइन्फोका अनुसार एसियाली क्रिकेट परिषद् (एसीसी) ले नेपालसहित आठ टोलीलाई समेटेर प्रतियोगिता आयोजना गर्ने तयारी गरेको हो।

क्रिकइन्फोले उल्लेख गरेअनुसार भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, थाइल्यान्ड, यूएई, मलेसिया र नेपाल वुमन्स एसिया कपमा सहभागी हुने सूचीमा छन्। प्रतियोगिता यूएईमा अगस्ट २८ देखि सेप्टेम्बर १३ सम्म सञ्चालन गर्ने तयारी छ, यद्यपि एसीसीबाट यसको अन्तिम औपचारिक स्वीकृति आउन बाँकी रहेको बताइएको छ।

प्रतिवेदनअनुसार एसीसीले जुलाई २२ मै सहभागी राष्ट्रहरूलाई प्रतियोगिताको तालिकासहित पत्राचार गरिसकेको छ। त्यसमा सबै टोलीलाई अगस्ट २४ भित्र यूएई पुग्न भनिएको उल्लेख छ। हाल पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष मोहसिन नाक्वी एसीसीका अध्यक्षसमेत रहेका छन्।

सेप्टेम्बर १३ पछि जापानको आइची–नागोयामा हुने एसियाली खेलकुदमा महिला क्रिकेट पनि समावेश भएकाले सहभागी टोलीहरू यूएईबाट सिधै जापान जाने सम्भावना रहेको जनाइएको छ।

यद्यपि, एसीसीले हालसम्म वुमन्स एसिया कपबारे कुनै आधिकारिक घोषणा गरेको छैन। नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले पनि यस विषयमा आफूहरूलाई कुनै औपचारिक जानकारी प्राप्त नभएको बताएका छन्।

उनले हालसम्म नेपाल सहभागी हुने विषयमा कुनै आधिकारिक पत्र वा सूचना प्राप्त नभएको स्पष्ट पारेका छन्।

यसैगरी, नेपाली महिला टोलीकी कप्तान इन्दु बर्माले पनि वुमन्स एसिया कपमा नेपालको सहभागिताबारे आफूलाई कुनै जानकारी नभएको प्रतिक्रिया दिएकी छन्। प्रतियोगिता सुरु हुन करिब तीन सातामात्र बाँकी रहे पनि त्यसअनुसार कुनै तयारी सुरु नभएको उनको भनाइ छ।

ट्वान्टी–२० ढाँचामा आयोजना हुने वुमन्स एसिया कपको यो छैटौं संस्करण हुनेछ। नेपालले यसअघि सन् २०१२, २०१६ र २०२४ मा गरी तीन पटक प्रतियोगितामा सहभागिता जनाएको थियो।

सन् २०२४ मा श्रीलंकामा सम्पन्न पछिल्लो संस्करणमा नेपालले यूएईलाई ६ विकेटले पराजित गर्दै वुमन्स एसिया कप इतिहासमा पहिलो जित दर्ता गरेको थियो।

सामान्यतया भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशबाहेक अन्य टोलीहरूले एसीसी वुमन्स प्रिमियर कपमार्फत एसिया कपमा स्थान बनाउने व्यवस्था छ। तर यस वर्षको प्रिमियर कपमा नेपाल मलेसियामा भएको प्रतियोगिताको क्वार्टरफाइनलबाटै बाहिरिएको थियो। त्यसैले छनोटमा असफल भए पनि नेपाललाई वुमन्स एसिया कपमा समावेश गरिएको भन्ने खबरले क्रिकेट वृत्तमा चासो बढाएको छ।

धेरै पढिएको