साविक विजेता लुम्बिनी लायन्सको शानदार जित
News Desk
Oct-27 तारिख 06:14 बिहान • आज

काठमाडौं, कात्तिक ९ । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा साविक विजेता लुम्बिनी लायन्सले शानदार जितसहित आफ्नो यात्रा सुरु गरेको छ। सोमबार भएको उद्घाटन खेलमा लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई सात विकेटले पराजित गर्दै उपाधि रक्षाको अभियानलाई सुखद बनाएको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्स १७.२ ओभरमा ८७ रनमै समेटियो। सामान्य लक्ष्य पछ्याएको लुम्बिनीले ९.५ ओभरमै तीन विकेट गुमाएर ८८ रन बनाउँदै सहज जित हात पार्‍यो।

गत संस्करणको फाइनलमा पनि सुदूरपश्चिमलाई पराजित गर्दै उपाधि जितेको लुम्बिनीले यसपटक पहिलो खेलमै आफ्नो बलियो उपस्थिति देखाएको छ।

लुम्बिनीको जितमा तीव्र गतिका बलर किशोर महतो र लेग स्पिनर शेर मल्लले उत्कृष्ट प्रदर्शन गरे। दुवैले मिलेर सुदूरपश्चिमका सात ब्याटरलाई आउट गरेपछि टोली ठूलो स्कोर बनाउन असफल भयो।

शेर मल्लले चौथो ओभरको पहिलो बलमा विनोद भण्डारीलाई नौ रनमा एलबीडब्ल्यू आउट गर्दै यस संस्करणको पहिलो विकेट लिए। त्यसपछि किशोर महतोले सुदूरपश्चिमको ब्याटिङ क्रमलाई लगातार दबाबमा राखे।

किशोरले पाँचौँ ओभरमा आरिफ शेख र नेदरल्यान्ड्सका ब्रेन्डन म्याकमुलेनलाई पभेलियन फर्काए। आरिफ खाता नखोली आउट भए भने म्याकमुलेनले दुई रन मात्रै बनाउन सके।

दोस्रो स्पेलमा बलिङमा फर्किएका किशोरले पुनः उत्कृष्ट प्रदर्शन गर्दै कप्तान दीपेन्द्रसिंह ऐरी र हेमन्त धामीलाई लगातार बलमा बोल्ड गरे। अविनाश बोहराले ह्याट्रिक हुनबाट जोगाए।

सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २७ रन बनाए। उनले २३ बलमा दुई चौका प्रहार गरे। अनिल खरेल १५ रनमा अविजित रहे। सुदूरपश्चिमको कमजोर ब्याटिङका कारण टोलीले पूरै इनिङ्समा एउटा पनि छक्का प्रहार गर्न सकेन।

८८ रनको लक्ष्य पछ्याउने क्रममा लुम्बिनीले आक्रामक सुरुवात गर्‍यो। अस्ट्रेलियाली ब्याटर डार्सी सर्टले पहिलो बलमै छक्का प्रहार गर्दै टोलीको मनोबल बढाए। उनले १८ बलमा चार चौका र तीन छक्काको मद्दतले ४० रन बनाए।

जनकपुर बोल्ट्सबाट लुम्बिनी आएका आसिफ शेखले पनि प्रभावशाली ब्याटिङ गरे। उनले २५ बलमा दुई चौका र दुई छक्कासहित ३२ रन बनाए। उनको योगदानले लुम्बिनीको जितलाई थप सहज बनायो।

श्रीलंकाली विकेटकिपर ब्याटर निरोशन डिकवेला सात रनमा दीपेन्द्रसिंह ऐरीको बलमा बोल्ड भए। त्यसपछि सामी हुसेन एक रन र रोहित पाँच रनमा अविजित रहँदै टोलीलाई जितसम्म पुर्‍याए।

साविक विजेता लुम्बिनीले बलिङ र ब्याटिङ दुवैमा सन्तुलित प्रदर्शन गर्दै प्रतियोगितामा आफ्नो दाबेदारी प्रस्तुत गरेको छ।

यसैबीच, एनपिएलमा मंगलबार दुई खेल हुनेछन्। पहिलो खेलमा विराटनगर किंग्सले चितवन राइनोजसँग प्रतिस्पर्धा गर्नेछ भने दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्स आमनेसामने हुनेछन्।

Related Post