News Desk
कर्णालीले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १३२ रन बनाएको थियो। जवाफमा जनकपुरले अपेक्षित प्रदर्शन गर्न नसक्दा लक्ष्यभन्दा १९ रन कम बनायो।
जनकपुरका लागि अभिषेक तिवारीले सर्वाधिक २० रन बनाए। मोइन अली र हरमित सिंहले समान १९ रन जोडे भने जेम्स निसमले १५ रन बनाए। मयन यादवले १४ र अनिल शाहले ११ रनको योगदान दिए। अन्य ब्याटरले उल्लेखनीय रन बनाउन सकेनन्।
कर्णालीका बलर हुसेन तलत र उनीश ठाकुरीले समान तीन विकेट लिए। नन्दन यादवले दुई तथा सोमपाल कामीले एक विकेट लिएपछि जनकपुरको इनिङ्स ११३ रनमा रोकिएको थियो।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीका लागि अरिफुल इस्लामले सर्वाधिक ४३ रन बनाए। उनले २९ बलमा चार छक्का प्रहार गरे। पवन सर्राफले ३७ बलमा तीन छक्कासहित ३७ रन जोडे।
त्यस्तै दीपक डुम्रेले पाँच बलमा दुई छक्काको मद्दतले १३ रन बनाए भने गुल्सन झाले १२ रनको योगदान दिए। अन्य ब्याटरले ठूलो स्कोर बनाउन नसक्दा कर्णाली १३२ रनमा सीमित भएको थियो।
जनकपुरका बलर हरमित सिंहले चार ओभरमा २२ रन खर्चेर तीन विकेट लिए। राहुल यादवले चार ओभरमा १५ रन दिँदै दुई विकेट हात पारे। मोइन अलीले पनि दुई विकेट लिए भने ललित राजवंशीले एक विकेट लिए।
कर्णालीका बलरको प्रभावकारी प्रदर्शनका कारण जनकपुर लक्ष्यसम्म पुग्न असफल भयो। १३२ रनको मध्यम योगफल जोगाउँदै कर्णालीले प्रतियोगितामा महत्त्वपूर्ण जित दर्ता गरेको छ।