News Desk
काठमाडौँ — २१ माघ २०७८
काठमाडौँ , अमेरिकी सेनाले इस्लामिक स्टेटका नेता अबु इब्राहिम अल-हासिमी अल-कुरेसीलाई मारेको दाबी गरेको छ । राष्ट्रपति जो बाइडनले आफूले दिएको आदेशमा अमेरिकी सेनाले इस्लामिक स्टेटका नेता कुरेसीलाई मारेको दाबी गरेका हुन् । यसबारे उनले ट्विटरमा लेखेका छन्, 'मेरो निर्देशनमा गएराति अमेरिका सेनाले उत्तर पश्चिम सिरियामा अमेरिकी नागरिक र हाम्रो सहयोगीहरुको रक्षाका लागि आतंकवाद विरुद्धमा कारबाही गर्यो । कारबाही सफलतापूर्वक सम्पन्न भयो । अमेरिकी र विश्वलाई सुरक्षित बनायौं ।'
कुरेसी घरभित्रैको बम विस्फोटमा मारिएका हुन् । उनीसँगै उनका परिवारका सदस्यहरु पनि मारिएको बताइएको छ । घटनास्थल पुगेका अधिकारीहरुले उक्त स्थानमा १३ जनाको शव फेला पारेको जनाएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् । कुरेसी टर्कीसँगको सीमा राज्य उत्तरी इदलिबमा मारिएका हुन् । समाचारहरु जनाइएअनुसार त्यस क्षेत्रमा अमेरिकी हेलिकप्टरहरु रातिदेखि नै धेरै थिए । अमेरिकी सेनाले मध्यरातमा उक्त मिसन चलाएको बताइएको छ ।बाइडेनले अमेरिकी सैनिकको बहादुरीको कारण इस्लामिक स्टेटका नेता कुरेसी मारिएको बताएका छन् ।
सिरिया सिभिल डिफेन्सले उक्त घरमा आफूहरु बिहान सवा ३ बजे पुगेको र १३ वटा शव फेला पारेको जनाएको छ । १३ जनामध्ये ६ बच्चा र ४ महिलाको शव रहेको सिरिया सिभिल डिफेन्सले जनाएको छ । घटनामा एक घाइते महिला पनि फेला परेको सिरिया सिभिल डिफेन्सले जनाएको छ । अमेरिकी उच्च अधिकारीहरुले रोयटर्सले बताएका अनुसार कुरेसीले आफ्नो घरमा छामा हान्नुअघि आत्मघाती विस्फोट गराएका थिए । त्यहाँ विस्फोटमा उनी र उनका परिवारका सदस्य र बालबालिकाहरु मरेका हुन् ।
( कान्तिपुर दैनिक )