News Desk
काठमाडौँ । चरम आर्थिक संकटसँगै खाद्यान्न, इन्धन तथा औषधि अभावका कारण सुरु भएको सरकारविरोधी प्रदर्शन चर्कंदै गएपछि श्रीलंकामा सबै मन्त्रीले राजीनामा दिएका छन् । सोमबार श्रीलंकाका सबै २६ जना मन्त्रीले राजीनामा दिएको शिक्षामन्त्री दिनेश गुणवर्देनाले जानकारी दिएका छन् । उनका अनुसार सबै मन्त्रीले राजीनामा दिए पनि प्रधानमन्त्री र राष्ट्रपतिमा भने महिन्दा राजापाक्ष र गोटाभाया राजापाक्ष भने पदमै कायम रहनेछन् । राष्ट्रपति गोटाभायाले रक्षा, प्रविधि मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्दै आएका छन् भने प्रधानमन्त्री महिन्दाले धार्मिक तथा सांस्कृतिक, आर्थिक नीति तथा योजना कार्यान्वयन र सहरी विकास तथा भवन निर्माण मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका छन् ।
राजीनामा दिने मन्त्रीहरूमा प्रधानमन्त्री महिन्दाका छोरा नमलसमेत रहेका छन् । उनी खेलकुद मन्त्रीको जिम्मेवारीमा थिए । ट्विटमार्फत राजीनामाबारे जानकारी दिँदै नमलले आफूहरूको निर्णयले सरकार र नागरिकका लागि स्थायित्व ल्याउने बताएका छन् ।
सरकारविरोधी प्रदर्शन रोक्न सरकारले कर्फ्यु आदेश जारी गरे पनि कैयौं सहरमा उल्लंघन भएको छ । राजधानी कोलम्बोमा प्रदर्शनकारी र सरकारी फौजबीच झडपहरू भएका छन् । कन्डी सहरमा प्रहरीले दर्जनौं अश्रुग्यास र पानीको फोहरा प्रहार गरेको बीबीसीले जनाएको छ । सरकारविरोधी प्रदर्शन अनियन्त्रित बन्दै गएपछि राष्ट्रपति गोटाबाय राजापाक्षले ३६ घण्टाका लागि जारी गरेको कर्फ्यु अवधि स्थानीय समयअनुसार सोमबार बिहान ६ बजे सकिएको छ ।