News Desk
विवाद समाधानका लागि ब्रिगेड कमान्डर तहमा छलफल जारी
काठमाडौं — भाद्र १५, २०७७ ।
चीन र भारतीय सेनाबीच सीमावर्ती इलाका लद्दाखमा पुन: तनाव सिर्जना भएको छ । भारतीय सेनाले सीमामा चिनियाँ सेनाले उक्साहटपूर्ण क्रियाकलापलाई बढावा दिएको बताएको छ ।
भारतीय सेनाका जनसम्पर्क अधिकृत कर्णेल अमन आनन्दले विज्ञप्ति जारी गर्दै अगस्ट २९ को राति चिनियाँ सेनाले दुई देशबीच भएको सहमति उल्लंघन गर्दै सैन्य गतिविधि अघि बढाएको उल्लेख गरेका छन् ।
भारतीय सेनाले जारी गरेको विज्ञप्तिमा चीनको जनमुक्ति सेना (पीएलए)ले उक्साउने खालका गतिविधि गरेको र भारतीय सेनाले रोकेको उल्लेख गरिएको छ । भारतीय सेनाले विवादको समाधानका लागि ब्रिगेड कमान्डरको तहमा छलफल भइरहेको पनि जानकारी दिएको छ ।
भारतीय सेनाले यसअघि दुई देशबीचका सैनिक अधिकारीबीच भएको सहमति उल्लंघन गरिएको आरोप लगाएको छ ।
भारतीय मिडियाहरूले सरकारी स्रोतको हवाला दिँदै दुवै देशका सेनाबीच झडप भएको उल्लेख गरेका छन् । चीनको सेनाले भारतीय क्षेत्रमा आएर बस्न खोज्दा झडप भएको उनीहरूले लेखेका छन् । दुई देशका सेनाबीच भएको झडपमा कुनै मानवीय क्षति नभएको भारतीय सेनालाई उल्लेख गर्दै सञ्चारमाध्यमले उल्लेख गरिरहेका छन् । चीनको पक्षबाट यस विषयमा कुनै जानकारी सार्वजनिक भएको छैन ।
यसअघि असार पहिलो हप्ता भएको भारतीय र चीनका सेनाबीच भएको झडपमा २० जना भारतीय सैनिकको मृत्यु भएको थियो ।
त्यसपछि दुवै देशका सेना र विदेशमन्त्रीस्तरीय छलफलपछि दुवै देशले सीमामा एक अर्कालाई असर पुग्ने खालका गतिविधि रोक्ने सहमति भएको थियो ।
(कान्तिपुर दैनिक)