गाजामा हमासले युद्ध प्रयोजनमा ल्याएको ठूलो सुरुङ फेला पारेको इजरायली सेनाको दाबी
News Desk
Dec-19 , 2023 तारिख 06:58 बिहान

इजरायली सेनाले गाजामा हमासले युद्ध प्रयोजनमा ल्याएको ठूलो सुरुङ फेला पारेको दाबी गरेको छ । विद्युत, संचारजस्ता सुविधायुक्त सो सुरुङ करिव चार किलोमिटर लामो रहेको इजरायली सेना,आइडीएफले जनाएको छ । गाजा-इजरायल सीमाको करिव चार सय मिटर नजिक रहेको सुरुङ जमिनको सतहबाट ५० मिटर मुनि रहेको बताइएको छ । आइडीएफको सो दावी स्वतन्त्ररुपमा पुष्टि हुन नसकेको सीएनएनले जनाएको छ । हमासले इजरायलमा हमला गरेयता १८ हजार ८ सय भन्दा बढी प्यालेस्टिनीहरुको मृत्यु भएको छ ।

 

मृतकमध्ये ७० प्रतिशत महिला र केटाकेटी रहेको हमासको स्वास्थ्य मन्त्रालयले जनाएको छ । इजरायलको लगातारको हमलाका कारण गाजा क्षेत्रमा खाद्यान्‍न र औषधीजस्ता अत्यावश्यक सामग्रीको चरम अभाव रहेको विभिन्‍न सञ्चार माध्यमले जनाएका छन् । यता अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजामा गरिएको अधिक बमबारीका कारण इजरायलले समर्थन गुमाउँदै गएको टिप्पणी गर्नुभएको छ । युद्धको समयसीमा र लक्ष्य किटान गर्नपनि उहाँले इजरायललाई चेतावनी दिनुभएको सीएनएनले जनाएको छ ।

धेरै पढिएको