News Desk
इण्डोनेसियाको पश्चिम सुमात्रा प्रान्तमा बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १९ पुगेको छ। सातजना अझै बेपत्ता रहेको प्रकोप एजेन्सीले जनाएको छ।
भारी वर्षाका कारण नदीमा जलप्रवाह अत्यधिक हुँदा बिहीबारदेखि नै प्राकृतिक प्रकोपले प्रान्त प्रभावित भएको प्रान्तीय विपद व्यवस्थापनका वरिष्ठ अधिकारी मुहारिन्दो इडवानले जानकारी दिए।
धेरैजसो मृतक पेसिसिर सेलाटन रिजेन्सीमा फेला परेका थिए। त्यहाँब १७ शव फेला परेका थिए भने बाँकी मृतकहरू परियामान रेजेन्सीमा फेला परेको इडवानले सिन्ह्वालाई फोनमा बताउनु भएको छ । तीव्र जलप्रवाहले १६ वटा पुल भत्किएर डुबानमा परेको, सडक अवरुद्ध भएको र घर पनि बगेकाले प्रकोप प्रभावितलाई राहत वितरणमा बाधा पुगेको उनले बताए।
प्रान्तीय विपद व्यवस्थापन तथा न्यूनीकरण एजेन्सीको आपतकालीन एकाइका प्रमुख फजर सुकमाले शनिबार बाढी कम भए पनि हजारौँ घर डुबानमा रहेको जानकारी दिए।
बेपत्ता व्यक्तिहरूको खोजी र उद्धार कार्यमा प्रकोप एजेन्सीका कर्मचारी, सैनिक, प्रहरी र स्वयंसेवक संलग्न परिचालित भएको सुकमाले जानकारी दिए।
एजेन्सी र अन्य सरकारी संस्थाहरूले आपतकालीन राहत प्रयास जारी राखेको पनि जनाइएको छ।