News Desk
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार युक्रेनमा जारी द्वन्द्व चाँडै समाप्त गर्नसक्ने अमेरिकी राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पको भनाइलाई गम्भीरतापूर्वक लिएको बताएका छन।
‘राष्ट्रपतिको उम्मेदवारका रूपमा ट्रम्पले आफू तयार रहेको र युक्रेनमा युद्ध रोक्न चाहेको भन्ने भनाइलाई हामी गम्भीररूपमा लिन्छौँ’, पुटिनले अस्तानामा पत्रकार सम्मेलनमा भने।
अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको बहसका क्रममा गत साता ट्रम्पले राष्ट्रपतिमा आफू निर्वाचित भए सन २०२५ जनवरीमा पदभार ग्रहण गर्नुअघि नै द्वन्द्व ‘समाधान’ गर्ने बताएका थिए।
रुसले सामान्यतया युक्रेनमाथि आफ्नो सैन्य आक्रमणलाई ‘विशेष सैन्य अभियान’ भनेर बुझाउने गरेको छ। युद्धको तेस्रो वर्षमा अन्त्य गर्ने ट्रम्पको विशिष्ट प्रस्तावबाट आफू ‘परिचित’ नभएको पुटिनले बताए।
पुटिनले द्वन्द्व समाप्त गर्न सधैँ वार्ताका लागि तयार रहेको दाबी गरे। तर गत महिना उनले युद्धविरामको पूर्वशर्तका रूपमा युक्रेनले प्रभावकारीरूपमा आत्मसमर्पण गर्नुपर्ने माग गरेका थिए। युक्रेनले रुसको आक्रमण समाप्त होस भन्ने चाहन्छ भने उसले मुलुकको दक्षिण र पूर्वबाट आफ्ना सैनिक हटाउन र हाल रुसी सेनाले कब्जा गरेको क्षेत्र खाली गर्नुपर्ने पुटिनको भनाइ छ।
युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले अस्थायी युद्धविरामलाई बारम्बार अस्वीकार गरेका छन। उनका अनुसार रुसले यसको प्रयोग पुनः संगठित हुन र सशस्त्र बनाउन प्रयोग गर्नेछ।
किएभले रुसी सेना मुलुकबाट पूर्णरूपमा बाहिरियोस भन्ने चाहन्छ। यसमा कुनै पनि सम्झौताअन्तर्गत सन २०१४ मा कब्जा गरेको क्रिमिया प्रायद्वीप पनि छ। साथै रुसले द्वन्द्वका कारण भएको नोक्सान र विनाशका लागि क्षतिपूर्ति देओस भन्ने युक्रेन चाहन्छ।
सन २०२३ मा युक्रेनी जवाफी आक्रमण धेरै हदसम्म असफल भएपछि रुसी सेनाले यस वर्ष युद्धको मैदानमा सामान्य प्रगति गरेको छ।