नाइजेरियाको ‘प्रेगनेन्सी स्क्याम’ : गर्भवतीदेखि सुत्केरीसम्म नक्कली
News Desk
Nov-28 , 2024 तारिख 07:31 बिहान

नाइजेरियाको अनाम्ब्रा राज्यमा अवैध रूपमा सञ्चालित क्लिनिकले झूटो गर्भधारण र शिशु तस्करीको माध्यमबाट आमा बन्न नसकेका महिलालाई ठग्ने गरेका पाइएको छ । 

प्रहरी अधिकारीहरूका अनुसार नक्कली चिकित्सकले सयौं डलर लिएर ‘चमत्कारिक प्रजनन उपचार’ गर्ने वाचासहित महिलाहरूलाई लोभ्याउँछन । 
नाइजेरिया संसारमा सबैभन्दा धेरै जन्मदर भएका देशमध्ये एक हो । त्यहाँ महिलाहरूले बच्चा जन्माउनका लागि निकै सामाजिक दबाव सामना गर्नुपर्छ । 

बच्चा नजन्माउने महिलालाई घरपरिवार र समाजबाट दुर्व्यवहार मात्र होइन बहिष्कारसम्म गरिन्छ । यही दबावका कारण केही महिला बच्चा जन्माउनका लागि जे पनि गर्न तयार हुन्छन । डाक्टर र नर्स बनेर ठगी गर्ने मान्छेहरू ‘बच्चा जन्माउन सहयोग गर्ने विशेष उपचार छ’ भन्दै भरोसा दिलाएर यस्तै महिलालाई निशाना बनाउँछन । 

अचम्म लाग्दो कुरा के भने ठगहरूले महिलाको गर्भधारणको अवधि पनि आफैं निर्धारण गर्छन । चिओमा नाम गरेकी महिलाले आफूले १५ महिनाको गर्भधारणपछि बच्चा जन्माएको बताइन ।

अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसी लेख्छ ः ठगहरूले आमा बन्ने आशमा जस्तोसुकै कठिनाइ भोग्न तयार महिलाहरूसँग सुरुवाती उपचारमै सयौं डलर लिन्छन र महिलाहरूको योनिमा इन्जेक्सन, केही तरल पदार्थ राखिदिएर झुक्याउने काम गर्छन । धेरैजसो महिलाले आफूमाथि प्रयोग गरिएको औषधिमा के मिसाइएको थियो भन्ने थाहै पाउँदैनन ।

अनुसन्धानका क्रममा सोधपुछ गरिएका केहीले महिलाले औषधि राखेपछि शरीरमा परिवर्तन महसुस गरेको अनुभव सुनाए । औषधिको असरले उनीहरुको पेट फुल्यो जसलाई ठगहरूले गर्भवती भएको भनेर विश्वास दिलाए । 

उनीहरुलाई अन्य उपचार एवं चेकजाँचका लागि डाक्टर र अस्पताल जान पनि दीएन । त्यति मात्र होइन ठगी गर्नेहरूले बच्चाको विकास पाठेघर बाहिरै भइरहेकाले कुनै स्क्यान या गर्भ जाँच गरेर बच्चाको बारेमा थाहा नहुने बताए । नौ महिना पुग्नै लाग्दा, ठगहरूले महँगो औषधि खाएपछि मात्र प्रसव व्यथा सुरु हुने भन्दै महिलाहरूबाट थप पैसा असुले । महँगो औषधी किनेर नखाए गर्भवतीको अवधि ९ महिनाभन्दा धेरै समय जाने, कुपोषित बच्चा जन्मिने, पुनः गर्भधारणको प्रक्रिया सुरु गर्नुपर्ने जस्ता डर पनि देखाउने गरेका पाइयो ।  

अनलाइन ग्रुप चलाएर गर्भधारणको विषयमा गलत जानकारी फैलाउने र गर्भधारण गर्न इच्छुक महिलालाई गोप्य ह्वाट्सएप ग्रुपमा जोडेर पूरै प्रक्रियाका बारेमा जानकारी दिने गरिएको समाचारमा उल्लेख छ ।

बच्चाको जन्मबारे पनि महिलाहरूको भिन्नाभिन्नै भोगाइ छ । केही महिलालाई बेहोस पारिन्छ र होसमा आउँदा तिनको शरीरमा चिरा पारेको निशाना देखाइन्छ । अर्का थरी महिलाहरूको भनाइअनुसार एउटा इन्जेक्सन दीन्छ जसले गर्दा निकै निद्रा लाग्ने र अचम्मको सपना देखिन्छ । त्यसक्रममा आफूले बच्चालाई जन्म दीरहेको महसुस उनीहरू गर्छन । 

चिओमाले भनिन्‚ ‘जब बच्चा जन्माउने समय आयो, नक्कली डाक्टरले पिठ्युँमा इन्जेक्सन लगाइदिएर बल गर्न भने तर मैले होप (उनले आफ्नो दाबी गरेको छोरा) लाई कसरी जन्म दिएँ थाहा पाइनँ तर डेलिभरी निकै दर्दनाक थियो ।’  

नाइजेरिया मा सरकारी अधिकारीको कार्यालयमा भेटिएकी चिओमा नाम गरेकी महिला जो ८ वर्षदेखि गर्भवती हुने प्रयास गर्दा पनि सफल भएकी थीनन तर उनको जीवनमा चमत्कार भयो र छोरा पाइन ।

आफ्नो काखमा बोकेको बच्चा आफ्नै छोरा हो भन्ने उनलाई विश्वास छ तर परिवारका अन्य सदस्यहरूलाई त्यो बच्चा चिओमा र उनका पति आइकेको जैविक सन्तान होइन भन्ने लाग्छ । 

अनाम्ब्रा राज्यमा महिलाहरूसँग सम्बन्धित मामिला र सामाजिक कल्याण कमिश्नर आएका इफी ओबिनाबो ओचिमासँग सोधपुछ गरिरहेका थिए । त्यसक्रममा चिओमाले उक्त बच्चालाई १५ महिनासम्म आफ्नो कोखमा राखेको दाबी गर्छिन । सन्तान नजन्माए पतिको अर्को विवाह गरिदिने भन्दै परिवारबाट गर्भधारणका लागि कैयौँ पटक दबाव सामना गर्नुपरेको बताउँदै चिओमाले आफू अचम्मको तरिकाले गर्भधारणसँग सम्बन्धित उपचार हुने ठाउँमा पुगेको बताइन । 

तर त्यो वास्तवमा एउटा गर्भधारण स्क्याम थियो जहाँ केही ठगले आमा बन्ने आशा राख्ने महिलाहरूलाई निशाना बनाउँथे र नवजात शिशुको तस्करी गर्थे । यही मामिलामा प्रहरी कमिश्नर ओबिनाबोले चिओमासँग सोधपुछ गरिरहेका थिए । 

तर ठगहरूले ठगीलाई सफल बनाउन भर्खरै जन्मिएका बच्चाको आवश्यकता पर्छ तर ती कहाँबाट ल्याइन्छन भनेर यकिन गर्न सकेका छैनन । यसका लागि एक्ला, हतास महिला, गर्भपात अवैध भएका देशका महिलालाई उनीहरू खोज्ने गरेका छन। 

गत फेब्रुअरीमा नाइजेरियाको अनाम्ब्रा राज्यको स्वास्थ्य मन्त्रालयले एउटा भवनमा छापा मार्‍यो । उक्त भवनको एकापट्टी नक्कली उपचार गर्न आएका महिलाका लागि चिकित्सकीय उपकरण र अर्कोपट्टी इच्छाविपरीत राखिएका १७ वर्षसम्मका गर्भवती महिलाहरू भेटिए । केही महिलाले आफूलाई झुक्याएर त्यहाँ लगिएको बताएपछि घटनाको अनुसन्धान थालियो ।

केही एकल, समाजबाट बहिष्कृत हुने अवस्थामा रहेका, कमजोर महिलाले भने दर्दनाक अवस्थाबाट बाहिर आउन बच्चा बेच्ने गरेका पाइएको समाचारमा उल्लेख गरिएको छ । जानकारहरु जबसम्म महिलाहरू बाँझोपन र धर्मपुत्र ग्रहण गर्ने बारेमा आफ्नो धारणा परिवर्तन नगरेसम्म यस्ता घटना भइरहने बताउँछन ।  

(बिबिसीबाट)

धेरै पढिएको