News Desk
चीनले ताइवानी नागरिकहरूलाई आफ्नो समाजमा एकीकृत गराउने उद्देश्यसहित परिचय पत्र र बसोबास अनुमति पत्र वितरण थालेको छ। यस कदमले ताइवानमा सुरक्षा र स्वायत्तताको चिन्ता बढाएको छ।
ताइवानी अधिकारीहरूका अनुसार चीन भ्रमण गर्ने ताइवानीहरू ‘तीन कागजात’—रेजिडेन्ट कार्ड, बैंक खाता, र स्थानीय फोन नम्बरका लागि आवेदन दिने गरेका छन। अधिकारीहरू भन्छन्, चीनले यो प्रक्रियालाई नागरिकता वितरणको सुरुवातको रूपमा प्रयोग गरिरहेको छ।
चिनियाँ नागरिकता र ताइवानी सरकारको प्रतिक्रिया
ताइवानी अधिकारीहरूले चीनले परिचय पत्रको माध्यमबाट आफ्नो क्षेत्राधिकार कमजोर बनाउने योजना गरिरहेको आरोप लगाएका छन। यदि चिनियाँ परिचय पत्र बोकेका ताइवानीहरू कुनै विवादमा संलग्न भए, चीनले उनीहरूलाई आफ्ना नागरिक भन्दै हस्तक्षेप गर्न सक्ने ताइवानी सरकारको चिन्ता छ।
फाइनान्सियल टाइम्सका अनुसार ताइवानी सुरक्षा अधिकारीले भने, “चिनियाँ नागरिकता लिएका व्यक्तिहरूलाई नियन्त्रणमा राख्ने चीनको उद्देश्य स्पष्ट छ, जसले ताइवानको स्वायत्तता चुनौतीमा पार्छ।”
डकुमेन्ट्रीपछि चर्किएको बहस
हालै सार्वजनिक एक डकुमेन्ट्रीका अनुसार करिब २ लाख ताइवानीहरूले चिनियाँ परिचय पत्र लीसकेका छन। डकुमेन्ट्रीमा चिनियाँ सरकारले समर्थन गरेको स्टार्टअपका प्रमुख लिन चिन चेङले यो तथ्याङ्क प्रस्तुत गरेका थिए।
तर, उक्त दाबीको स्वतन्त्र पुष्टि भने भएको छैन। यद्यपि, चीनमा जाने ताइवानीहरूलाई ‘तीन कागजात’ भर्ने प्रक्रिया लागू गरिएको ताइवानका अधिकारीहरू बताउँछन।
ताइवानको कानुनी अडान
ताइवानको कानुनअनुसार चिनियाँ परिचय पत्र लिने नागरिकहरूको परिवार दर्ता खारेज गरिन्छ। तर, चीनमा उनीहरूको गतिविधि निगरानी गर्न कठिन भइरहेको ताइवानी प्रशासन बताउँछ।
२०२३ मा २ लाख १७ हजार ताइवानीहरू चीनमा कार्यरत रहेको तथ्याङ्क छ, जुन एक दशक अघिको तुलनामा आधा भए पनि २०२२ को तुलनामा २२ प्रतिशत वृद्धि भएको देखिन्छ।
राष्ट्रपति लाइको चेतावनी
ताइवानी राष्ट्रपति लाइ चिङ तेले जनतालाई चिनियाँ परिचय पत्र नलिन चेतावनी दिएका छन। नयाँ वर्षको सम्बोधनमा उनले भने, “सित्तैमा पाएको चिज पछि महँगो ठहरिन सक्छ। अहिलेको सुविधा भविष्यमा ठूलो मूल्य चुकाउनु पर्ने कारण बन्न सक्छ।”
ताइवानले चीनको यो रणनीतिलाई आफ्नो स्वायत्तता र पहिचान कमजोर बनाउने प्रयासका रूपमा लिएको छ। यस विषयमा अन्तर्राष्ट्रिय समुदायको ध्यान तानिने अपेक्षा गरिएको छ।