News Desk
दिल्ली विधानसभा चुनाव २०२५ नजिकिँदै गर्दा, भारतीय जनता पार्टी (भाजपा) र आम आदमी पार्टी (आप) बीचको प्रतिस्पर्धा तीव्र बन्दै गएको छ। भाजपाले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा चुनावी अभियान सञ्चालन गरिरहेको छ भने, आपले पूर्व मुख्यमन्त्री अरविन्द केजरीवाललाई आफ्नो प्रमुख अनुहारका रूपमा प्रस्तुत गरेको छ।
प्रधानमन्त्री मोदीको राष्ट्रिय लोकप्रियता र केन्द्र सरकारद्वारा सञ्चालित योजनाहरूलाई भाजपाले आफ्नो मुख्य चुनावी मुद्दा बनाएको छ। मोदीको नेतृत्वमा पार्टीले दिल्लीका जनतालाई आवास, स्वास्थ्य सेवा, र अन्य सुविधाहरू प्रदान गर्ने वाचा गरेको छ।
दोस्रो तर्फ, अरविन्द केजरीवालले दिल्लीमा शिक्षा, स्वास्थ्य, र निःशुल्क बिजुली-पानी जस्ता स्थानीय मुद्दाहरूमा केन्द्रित गर्दै आफ्नो अभियानलाई अघि बढाइरहेका छन। उनको सादगीपूर्ण छवि र जनतासँगको निकटताले उनलाई दिल्लीका मतदाताहरूमा लोकप्रिय बनाएको छ।
दुवै दलले आफ्ना-आफ्ना घोषणापत्रमा विभिन्न योजनाहरूको घोषणा गरेका छन। भाजपाले प्रति महिना ३०० युनिटसम्म निःशुल्क बिजुली, धार्मिक स्थलहरूलाई ५०० युनिट निःशुल्क बिजुली, र महिलाहरूका लागि विशेष योजनाहरूको वाचा गरेको छ। त्यस्तै, आपले वृद्धहरूको लागि संजीवनी योजना, महिलाहरूलाई मासिक भत्ता, अटो चालकहरूका लागि बीमा, र पुजारीहरू तथा ग्रन्थीहरूलाई तलब दिने योजना प्रस्तुत गरेको छ।
यस चुनावमा, मोदी र केजरीवालबीचको मोडल प्रतिस्पर्धा मुख्य आकर्षणको रूपमा देखिएको छ। भाजपाले मोदीको राष्ट्रिय छविलाई अघि सार्दैछ भने, आपले केजरीवालको स्थानीय काम र छविलाई जोड दीरहेको छ। मतदान ५ फेब्रुअरी २०२५ मा हुने र परिणाम ८ फेब्रुअरी २०२५ मा घोषणा गरिनेछ।
यस चुनावी प्रतिस्पर्धाले दिल्लीको राजनीतिक भविष्यलाई कता मोड्नेछ भन्ने चासो सबैमा रहेको छ।