News Desk
महाभियोगपछि निलम्बित दक्षिण कोरियाली राष्ट्रपति युन सुक योलले भ्रष्टाचार अनुसन्धानको क्रममा कुनै बयान दिन अस्वीकारगरेका छन । अनुसन्धानमा संलग्न अधिकारीहरूले बुधबार जानकारी दिए अनुसार, स्थानीय समयअनुसार बिहान ११ बजेदेखि दिउँसो १ः३० बजेसम्म भएको सोधपुछमा उनले कुनै प्रतिक्रिया नदिएको र अनुसन्धान प्रक्रिया रेकर्ड गर्न वा भिडियो टेप गर्न अनुमति पनि अस्वीकार गरेका छन।
दक्षिण कोरियाको भ्रष्टाचार अनुसन्धान कार्यालय (सीआईओ)ले युनलाई हिरासतमा राख्न ‘सियोल डिटेन्सन सेन्टर’मा स्थानान्तरण गर्ने वा नगर्ने विषयमा राष्ट्रपतिको सुरक्षा टोलीसँग परामर्श गरिरहेको जनाएको छ। साथै, हिरासत अवधि २० दिनसम्म थप गर्न सियोल वेस्टर्न डिस्ट्रिक्ट कोर्टमा आवेदन दिने तयारी गरेको छ।
सीआईओले १० दिनको हिरासतपछि युनलाई अभियोजन कार्यालयमा हस्तान्तरण गर्ने योजना बनाएको छ। तर, युनको कानुनी टोलीले सीआईओलाई राष्ट्रपतिबारे अनुसन्धान गर्ने अधिकार नभएको र पक्राउ पुर्जी गैरकानुनी भएको दाबी गरेको छ।
उनको कानुनी टोलीले विज्ञप्ति जारी गर्दै सीआईओ र प्रहरीलाई गैरकानुनी पक्राउ पुर्जी कार्यान्वयनको लागि कानुनी रूपमा जवाफदेही बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।