News Desk
दिल्ली विधानसभा चुनावमा आम आदमी पार्टी (आप) का नेता तथा पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाल पराजित भएका छन्। नयाँ दिल्ली क्षेत्रबाट चुनावी मैदानमा उत्रिएका केजरीवाल भारतीय जनता पार्टी (भाजपा) का उम्मेदवार परवेश वर्मासँग पराजित भएका हुन्।
मतगणना जारी रहँदा आपका अर्का शीर्ष नेता तथा पूर्वउपमुख्यमन्त्री मनिष सिसोदियाले पनि हार बेहोरेका छन्। तर, पार्टीकी प्रमुख नेतृ एवं वर्तमान मुख्यमन्त्री आतिशी मार्लेना भने विजयी भएकी छन्।
७० सिट रहेको दिल्ली विधानसभामा सरकार बनाउन ३६ सिट आवश्यक पर्छ। हालसम्म भाजपाले ४८ सिटमा अग्रता लिएको छ भने आप २२ सिटमा अघि रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। कांग्रेसले कुनै पनि क्षेत्रमा अग्रता लिन सकेको छैन।
एक्जिट पोलहरूले समेत यसपटक दिल्लीमा भाजपा बहुमतमा पुग्ने र आपले पछिल्ला दुई निर्वाचनमा कायम राखेको बहुमत गुमाउने संकेत गरेका थिए। २०१५ र २०२० मा स्पष्ट बहुमत हासिल गरेको आप यसपटक कमजोर देखिएको छ।
लोकसभा चुनावका लागि कांग्रेस र आम आदमी पार्टी गठबन्धनमा रहे पनि विधानसभामा दुवै दलले अलग-अलग प्रतिस्पर्धा गरेका थिए। २०२० को चुनावमा जम्मा ८ सिटमा सीमित भएको भाजपा यसपटक बलियो अवस्थामा देखिएको छ। १० वर्षदेखि दिल्लीमा सिट जित्न असफल कांग्रेसले यस निर्वाचनमा समेत कुनै अग्रता देखाउन सकेको छैन।