News Desk
हमासले गाजा युद्ध सुरु भएदेखि इजरायलमा व्याप्त अग्निपरीक्षाको प्रतीक बनेका बिबास परिवारसहित चार जना इजरायली बन्धकको शव रहेको कफिन बिहीवार हस्तान्तरण गरेको छ।
सन २०२३ अक्टोबर ७ मा इजरायलमाथि भएको आक्रमणपछि हमासले पहिलो पटक शव हस्तान्तरण गरेको हो। यो हमास र इजरायली पक्षबीच जनवरी १५ मा सहमति गरिएको र जनवरी १९ मा कार्यान्वयनमा आएको युद्धविराम सम्झौताअन्तर्गत भइरहेको छ। बदलामा इजरायली जेलमा रहेका जीवित प्यालेस्टिनी बन्दीको आदानप्रदान हुनेछ।
दुई छोराहरू केफिर र एरियलसहित शिरी बिबास तथा ओडेद लिफशिट्जको शव फिर्ता गर्ने समारोह दक्षिणी गाजा शहर खान युनिसबाट भएको हो।
हस्तान्तरण गर्नुअघि हमासले बलौटे जमिनमा बनाइएको मञ्चमा चारवटा कालो कफिन प्रदर्शन गरेको थियो। प्रत्येक ‘कास्केट’मा मृतकको सानो फोटो राखिएको र कफिनको छेउमा राखिएका सेतो नक्कली क्षेप्यास्त्रमा अमेरिकी बमले मारिएका लेखिएको छ।
इजरायली सेनाले ‘बन्धकहरूको शव’ आफू र गाजास्थित शिन बेट आन्तरिक सुरक्षा एजेन्सीलाई हस्तान्तरण गरिएको बताएको छ। हमासले बिबास परिवारको अपहरणका समय गरेको भिडियो प्रसारणमा आमा र उनका छोराहरू चार वर्षीय एरियल र केवल नौ महिनाका केफिरलाई गाजा सीमा नजिकैको उनीहरूको घरबाट जफत गरिएको देखिएको थियो।
केटाहरूका बुबा र शिरीका पति यार्डेन बिबासलाई सोही दिन छुट्टाछुट्टै अपहरण गरिएको थियो र फेब्रुअरी १ मा गाजा पट्टीबाट बन्धक–कैदी आदानप्रदानमा रिहा गरिएको थियो।