वैदेशिक सहायता बजेटमा कटौती गरिने बेलायती प्रधानमन्त्रीको घोषणा 
News Desk
Feb-26 , 2025 तारिख 06:40 बिहान

बेलायली प्रधानमन्त्री केइर स्टार्मरले बेलायतले सन २०२७ सम्ममा आफ्नो रक्षा खर्च कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को २.५ प्रतिशत पुर्‍याउने र यसका लागि वैदेशिक सहायता बजेटमा कटौती गरिने घोषणा गर्नुभएको छ ।

हाल बेलायतले आफ्नो जीडीपीको २।३ प्रतिशत रक्षा क्षेत्रमा खर्च गर्दै आएको छ । यो बढोत्तरी शीतयुद्ध यताको सबैभन्दा ठूलो बढोत्तरी हुनेछ । नयाँ प्रतिबद्धताको अर्थ बेलायतले सन २०२७ देखि रक्षा क्षेत्रमा प्रतिवर्ष थप १३ अर्ब ४० करोड पाउन्ड बढी खर्च गर्नेछ । रक्षा बजेट वृद्धिका लागि बेलायतले वैदेशिक सहायतामा ०।२ प्रतिशतले कटौती गर्नेछ ।

मंगलबार संसद्‌लाई सम्बोधन गर्दै स्टार्मरले भविष्यमा रक्षा खर्चलाई जीडीपीको ३ प्रतिशत पुर्‍याउने लक्ष्यका साथ काम गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पलाई भेटन बिहीबार वासिङटनतर्फ प्रस्थान गर्नुअघि प्रधानमन्त्री स्टार्मरले बेलायतको रक्षा रणनीतिमा यस्तो परिवर्तनको घोषणा गर्नुभएको हो ।

ट्रम्पले सत्ता सम्हालेयता बेलायत लगायतका पश्चिमा सैन्य गठबन्धन नेटोका सदस्य राष्ट्रलाई रक्षा बजेट वृद्धि गर्न निरन्तर दबाब दिँदै आउनुभएको थियो ।

स्टार्मरले देशको सुरक्षा हितलाई ध्यानमा राख्दै यस्तो कठिन निर्णय लिनुपरेको र वैदेशिक सहायता बजेटलाई राष्ट्रिय आयको ०।५ प्रतिशतबाट ०।३ प्रतिशतमा झारेर यो लक्ष्य प्राप्ति गरिने संसद्लाई जानकारी गराउनु भएको हो ।

वैदेशिक सहायता कटौतीको असर बेलायतबाट सहायता प्राप्त गर्ने नेपाल जस्ता देशलाई समेत पर्ने बताइएको छ । अमेरिकाले यूएसएडको बजेटमा व्यापक कटौती गरेका कारण प्रभावित देशहरू बेलायती सहायता कटौतीबाट थप मारमा पर्ने बताइएको छ ।

धेरै पढिएको