News Desk
बेलायती प्रधानमन्त्री केइर स्टार्मरले फ्रान्ससँग मिलेर युक्रेन युद्धविराम सम्बन्धी प्रस्ताव तयार पार्ने बताएका छन। लन्डनमा आयोजना गरिने युरोप तथा क्यानडाका नेताहरूको बैठकअघि स्टार्मरले फ्रान्ससँग संयुक्त रूपमा काम गर्ने बताएका छन भन्ने बीबीसीले जनाएको छ।
उक्त प्रस्तावलाई अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प समक्ष राख्ने समेत उनले स्पष्ट पारेका छन। उनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की, ट्रम्प र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंसँग यसबारे छलफल गरिसकेको बताएका छन।
ह्वाइट हाउसको ओभल अफिसमा भएको विवादित वार्तापछि युक्रेन युद्धबारे छलफल गर्न र युक्रेनलाई सुरक्षा ज्ञ्ारेन्टी दिन बेलायती प्रधानमन्त्री स्टार्मरले युरोपेली मुलुक तथा क्यानडाका नेताहरूको बैठक बोलाएका छन। उक्त बैठकमा इटाली, फ्रान्स, जर्मनी र क्यानडाका राष्ट्रप्रमुख सहभागी हुनेछन भने नेदरल्यान्ड्स, डेनमार्क, नर्वे, पोल्यान्ड, स्पेन, फिनल्यान्ड, स्वीडेन, चेक रिपब्लिक र रोमानियाका नेता समेत सहभागी हुने बताइएको छ।
सोही बैठकमा सहभागी हुन हिजो जेलेन्स्की बेलायत पुगेका थिए भने बेलायती प्रधानमन्त्रीसँग पनि उनले भेटवार्ता गरेका थिए।
उक्त भेटपछि बेलायत र युक्रेनबीच २।२६ अर्ब पाउन्डको ऋण सहयोग सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ। युक्रेनले उक्त रकम सैन्य उपकरण खरिदमा प्रयोग गर्नेछ भने पश्चिमा मुलुकले जफत गरेका रूसी सम्पत्ति बिक्रीबाट युक्रेनले उक्त ऋण तिर्नेछ।