युक्रेनलाई समर्थन गर्न ‘इच्छुकहरूको गठबन्धन’ को हिस्सा बन्न आग्रहसहित करिब २० देशसँग वार्ता
News Desk
Mar-07 , 2025 तारिख 06:57 बिहान

बेलायती अधिकारीहरूले युद्धविरामको समयमा युक्रेनलाई समर्थन गर्न ‘इच्छुकहरूको गठबन्धन’ को हिस्सा बन्न इच्छुक करिब २० देशसँग वार्ता गरेको छ।

बेलायतका एक अधिकारीका अनुसार बैठकमा ‘मुख्यतः युरोपेली र राष्ट्रमण्डल साझेदारहरू’ सहभागी भएका थिए र बुधबार भएको थियो। तर उनले कुन देशहरू सहभागी भए भन्ने बताउन अस्वीकार गरे।

देशहरूले कसरी योगदान दिन सक्छन् भन्नेबारे छलफल अझै ‘प्रारम्भिक चरणमा’ रहेको उनले बताए। युद्ध अन्त्य गर्ने प्रयासहरू सम्बन्धी स्थिति ‘धेरै तरल’ रहेको उनले जनाए।

‘निश्चित रूपमा हामी यी युरोपेली र राष्ट्रमण्डल साझेदारहरूबाट प्राप्त बढ्दो संलग्नतालाई स्वागत गर्दछौँ’, नाम नछाप्ने शर्तमा ती अधिकारीले भने, “यो सकारात्मक संलग्नता हो, तर यो शुरुआती दिनहरू हुन्।’

बेलायत र फ्रान्सले रूस र युक्रेनबीचको युद्ध अन्त्य गर्न सम्झौता भएको खण्डमा युद्धविराम सुरक्षामा सहयोग गर्न तयार देशहरूको समूह गठन गर्ने प्रयासको नेतृत्व गरिरहेका छन्।

बेलायतका प्रधानमन्त्री किर स्टार्मर र फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले अमेरिकाको समर्थनमा सम्भावित युद्धविराम सुनिश्चित गर्न युक्रेनमा सैनिक तैनाथ गर्न तयार रहेको बताए।

टर्कीले बिहीबार शान्ति स्थापना प्रयासमा भूमिका निर्वाह गर्नसक्ने संकेत दिएको छ भने आयरल्याण्डका प्रधानमन्त्री माइकल मार्टिनले आयरिस सैनिकहरू शान्ति स्थापनामा संलग्न हुनसक्ने तर कुनै ‘निवारक बल’ मा तैनाथ नगर्ने बताए।

देशहरूले लजिस्टिक्स प्रदान गर्नेजस्ता अन्य तरिकाहरूमा योगदान दिन सक्ने विचार गरिएको छ। ​रूसले युक्रेनमा युरोपेली सैनिक स्वीकार नगर्ने कुरामा जोड दिएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पअन्तर्गत युरोपको सुरक्षामा संयुक्त राज्य अमेरिकाको दीर्घकालीन प्रतिबद्धता अहिले अनिश्चित भएकाले पश्चिमी देशहरू आफ्नो रक्षा खर्च बढाउन र एकीकृत मोर्चा कायम राख्न हतारिँदै छन्।

धेरै पढिएको