News Desk
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘उत्तर अमेरिकी व्यापार सम्झौता’ अन्तर्गत क्यानडा र मेक्सिकोबाट आयात वस्तुमाथि लगाएको २५ प्रतिशत करलाई एक महिनासम्मका लागि छुट दिने आदेशमा हस्ताक्षर गर्नुभएको छ । मंगलबार ट्रम्पले मेक्सिको र क्यानडाबाट आयात हुने वस्तुमा २५ प्रतिशत कर लगाउने घोषणा गर्नुभएको थियो ।
उक्त छुटको म्याद भने अप्रिल २ मा समाप्त हुने रोयटर्सले जनाएको छ । यो छुटले दुई ठूला अमेरिकी व्यापारिक साझेदारलाई समेट्ने अपेक्षा गरिएको छ ।
ट्रम्पले पहिले मेक्सिकोको लागि मात्र छुट दिने विषय उल्लेख गर्नुभएको थियो । तर, दुवै मुलुकबाट आयात हुने वस्तुमा २५ प्रतिशत कर लगाउने आफ्नो आदेशलाई संशोधन गर्दै ट्रम्पले दुई मुलुकलाई एक महिनाको कर छुट दिनुभएको हो ।
क्यानडाका लागि संशोधित आदेशले अमेरिकी किसानलाई महत्त्वपूर्ण मल, पोटास र ऊर्जा उत्पादनमा लाग्ने शुल्कलाई समावेश नगरेको बताइएको छ । ऊर्जा उत्पादनमा ट्रम्पले यसअघि नै १० प्रतिशत कर लगाउनुभएको थियो ।
क्यानडाबाट आयात गरिएका सबै ऊर्जा उत्पादन ट्रम्पले आफ्नो पहिलो कार्यकालमा वार्ता गरेको व्यापार सम्बन्धी अमेरिका–मेक्सिको–क्यानडा सम्झौता अन्तर्गत नरहेको कारण ऊर्जा उत्पादनमा कर लाग्ने ह्वाइट हाउसका एक अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले उल्लेख गरेको छ ।
यसअघि फेब्रुअरीमा पनि ट्रम्पले मेक्सिको र क्यानडाबाट आयात हुने वस्तुमा २५ प्रतिशत कर लगाउने घोषणा गर्नुभएको थियो । तर, दुवै मुलुकका राष्ट्रप्रमुखले ट्रम्पसँग आग्रह गरेपछि सो करमा समेत एक महिनाका लागि छुट दीएको थियो ।
फेन्टानिल र अवैध आप्रवासीलाई अमेरिका पठाउन ती मुलुकले सहयोग गरिरहेको भन्दै अमेरिकाले कर लगाउने घोषणा गरेको थियो ।
यस्तै घातक ओपिओइड र यसको पूर्ववर्ती रसायन चीनबाट क्यानडा र मेक्सिको हुँदै अमेरिका पुगेको दाबी गर्दै आउनुभएको ट्रम्पले फलस्वरूप चीनबाट हुने सबै आयातमा २० प्रतिशत कर लगाउनुभएको छ । अप्रिल २ बाट भने ट्रम्पले सबै अमेरिकी व्यापारिक साझेदारमाथि पारस्परिक कर लगाउने धम्की समेत दिनुभएको छ । सोही दिनबाट मेक्सिको र क्यानडालाई दीएको छुटको म्याद समेत समाप्त हुनेछ ।