News Desk
बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार प्रोफेसर मोहम्मद युनुसले राष्ट्रका नाममा सम्बोधन गर्दै सरकार ढाल्न लागिएको खबर अफवाह भएको बताएका छन।
मंगलबार उनले देशमा अस्थिरता सिर्जना गर्न मानिसहरूलाई भ्रमित पारिएको र झुटा समाचार फैलाइएको बताए।
अन्तरिम सरकारका प्रमुख युनुसले भने, ‘देशमा अस्थिरता सिर्जना गर्न मानिसहरूलाई भ्रमित गर्न एकपछि अर्को गलत जानकारी फैलाइँदै छ। अफवाह फैलाउन नयाँ तरिकाहरू अपनाइँदैछ। एउटा तस्वीरलाई अर्को तस्वीरसँग जोडिँदैछ, एउटा घटनाको फोटोकार्ड बनाइँदैछ र सामाजिक सञ्जालमा अन्य देशका घटनाहरूलाई यस देशको घटनाको रूपमा प्रस्तुत गरेर सनसनी फैलाइँदै छ।’
प्रोफेसर युनुसले यो हल्लका लागि अपदस्थ प्रधानमन्त्री शेख हसिनाको अवामी लिग पार्टीलाई दोष दिए।
उनले भने, ‘यसको पछाडि को छ र हाम्रो एकताले यी भागेका शक्तिलाई किन समस्या निम्त्याइरहेको छ भन्ने कुरा तपाईंहरू सबैलाई थाहा छ। उनीहरू यो एकता तोड्न चाहन्छन।’
अन्तरिम सरकार प्रमुखले चुनाव नजिकिँदै जाँदा अफवाह झन डरलाग्दो हुँदै जाने पनि बताए।